काठमाडौं, ३० वैशाख । स्थानीय निकायको निर्वाचनको मतदानको समयावधि सकिएको छ । सबैजसो मतदानस्थलहरुमा मतदान सकिएसँगै मतपेटिका व्यवस्थापनको काम भइरहेको छ ।
आज मतदानका क्रममा विभिन्न ठाउँमा हिंसात्मक घटना पनि भएका छन् । देशभर पाँच स्थानको निर्वाचन स्थगित भएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाको ताराखसेमा गोली चलेको छ । घटनामा एकजना घाइते भए ।
काभ्रेको पाँचखाल नगरपालिका १३, रामेछापको खाँडादेवी १ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिका १२ र जुम्लाको गुठीचौर गाउँपालिका ३ गज्याङमा निर्वाचन स्थगित भएको हो ।
पाँचखालमा मतपत्रको विषयमा विवाद चल्दा मतदान केन्द्र नै तोडफोड भएको थियो । त्यहाँ पुनः मतदान हुने भएको छ ।
रामेछापको खाँडादेवीमा विवाद बढेर हवाई फायर सम्म भएको छ । विजयपुर नगरपालिकाको शितलपुरमा पनि हवाई फायर भएको छ ।
सप्तरीमा मतपेटिकाहरुमा तोडफोड भएके थियो । जुम्लाको गुठीचौरको गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय मावि केन्द्रमा काँग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप भएको थियो ।