काठमाडौं, १ जेठ । स्थानीय निकायको निर्वाचन सम्पन्न भएलगत्तै ३० वैशाखको साँझ रिपोर्टर्स नेपालले तीन महिनाको रिसर्चबाट तयार पारेको मत प्रक्षेपण सार्वजनिक गरेको थियो । जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी ३ सय भन्दा बढी पालिकामा जीत हासिल गर्ने उल्लेख थियो ।
चुनावी प्रक्षेपणमा काँग्रेस पहिलो ठूलो दल बन्ने देखाएको थियो । नेकपा एमालेले १४० पालिकासम्म जित्ने प्रक्षेपण गरेको थियो ।
नेकपा माओवादी केन्द्रले १२५ देखि १३५ पालिका जित्ने उल्लेख थियो ।
पाँच वर्ष अघिको चुनावी नतिजा, गठबन्धन भए वा नभएको देखि पछिल्लो मतगणनाको परिवेश समेतलाई केलाएर गरिएको प्रक्षेपणमा काँग्रेस पहिलो हुने देखिएको थियो ।
जनता समाजवादी पार्टीले ४० देखि ५० र नेकपा एकीकृत समाजवादी पार्टीले पनि यही अनुपातमा पालिकाहरु जित्ने देखाएको थियो ।
राष्ट्रिय जनमोर्चाले ३ देखि ६ पालिकामा मेयर जित्ने प्रक्षेपणले देखाएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीले १५ देखि २० र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यही अनुपातमा पालिका जित्ने देखिएको थियो ।
स्वतन्त्र उम्मेदवारहरुले पनि उल्लेख्य संख्यामा जित हासिल गर्ने अवस्था देखाएको थियो । स्वतन्त्रसहित साना दलहरुले ३० देखि ४० पालिकामा जित हासिल गर्ने प्रक्षेपणले देखाएको थियो ।
प्राप्त पछिल्लो मत परिणामले रिपोर्टर्स नेपालको प्रक्षेपण लगभग मिल्ने देखिएको छ ।