Logo

देउवाको हुकुम प्रमांगीबाट मेयरको उम्मेदवार बनेका खातीलाई जिताउन पुनः मतदानको षड्यन्त्र गरिँदै छः कर्ण थापा



काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने, “बाजुराको बुढीगंगा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । तर अहिलेसम्म सुनिनियोजित रुपमा मतगणना सुरु गरिएको छैन । उल्टै पुनः मतदान गर्ने हौवा पिटाइएको छ । नेपाली कांग्रेसले चुनाव हार्छ भन्ने डरले सुनियोजित रूपमा कर्फ्यु घोषणा गरिएको छ । पुनः मतदान मात्र गरिरहने हो भने निर्वाचन प्रक्रिया कहिले टुंगिन्छ ?”
महान्यायाधिवक्ता खम्बबहादुर खातीको भाइ रंगबहादुर खातीलाई जिताउन पुनः मतदानको षड्यन्त्र गरिएको आरोप पनि उनले लगाए । एमाले नेता थापाले भने, “महान्यायाधिवक्ता खम्बबहादुर खातीका भाइ रंगबहादुर खाती कांग्रेसका मेयरका उम्मेदवार छन् । उनी शेरबहादुर देउवाको हुकुम प्रमांगीबाट उम्मेदवार बनेका हुन् । राज्यशक्ति र अधिकारको दुरुपयोग गरी एउटा पालिकामा नेपाली कांग्रेसलाई जिताउन खोजिएको छ । हामी यस्तो षड्यन्त्र गर्न दिँदैनौं ।”
थापाले खातीको घर भएको वडा नं १ मा धाँधली गरिएको आरोप पनि लगाए । उनले भने, “खातीको घर भएको वडा नं १ मा १७०९ मतमध्ये १६९९ मत खसाइएको छ । त्यहाँ पुनः मतदान नहुने, अर्को ठाउँमा पुनः मतदान गर्ने कुरा हामी मान्दैनौं ।”
एमालेको ५ दलीय गठबन्धनविरुद्ध एक्लै लडेकाले केही संख्या कम हुनु स्वाभाविक भएको पनि उनले बताए । थापाले भने, “हामी हाम्रा नीतिमा स्पष्ट छौं । नेकपा एमाले गठबन्धन विरुद्ध एक्लै लडेको हो । हामी परिणाम स्वीकार्छौं । हामीलाई जनताको मतमा मन्जुर छ । तर राज्यशक्तिको दुरुपयोगले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पार्छ ।”



प्रतिक्रिया दिनुहोस्