काठमाडौं, जेठ ८ । २०१७ सालमा नेपालगन्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रूपमा स्थापित भएको नेपालगन्जमा हालसम्म नौ जना नगरप्रमुख बने। व्यक्तिका हिसाबले १०औं र कार्यकालका हिसाबले १२औं नम्बरमा नगरप्रमुखको जिम्मेवारी आइपुगेको छ ४२ वर्षीय प्रशान्त बिष्टको काँधमा।
नेपालगन्ज उपमहानगरको प्रमुखमा बिष्टको आगमनले नेपालगन्जको विकासमा कस्तो अर्थ राख्छ? त्यसको परीक्षण हुन बाँकी नै छ। तर, राजनीतिक रूपले यसले केही फरक अर्थ अवश्य राख्छ। बिष्टको जितसँगै देशको पुरानो र ठूलो सहरमध्ये एक नेपालगन्जमा करिब अढाई दशकपछि नेपाली कांग्रेसका प्रतिनिधिले प्रमुख हुने अवसर पाएका छन्।
२०४९ सालमा नेपाली कांग्रेसका तर्फबाट विजयकुमार गुप्ता नेपालगन्जको नगरप्रमुख निर्वाचित भएका थिए। त्यसपछि २०५४ सालमा एमालेका तर्फबाट उम्मेदवार बनेका डा. धवल शम्शेर राणा नगरप्रमुख निर्वाचित भए। २०५९ सालसम्म नगरप्रमुख रहेका डा. राणाको कार्यकालपछि करिब १५ वर्ष देश संक्रमणकालीन अवस्थामा जाँदा स्थानीय निकाय कर्मचारीको हातमा रह्यो।
वर्तमान संविधान २०७२ जारी भएपछि २०७४ सालको स्थानीय निर्वाचनमा फेरि डा. धवलशम्शेर नगरप्रमुखको उम्मेदवार बने र कांग्रेसलाई हराए। तर, त्यसबेला उनी राप्रपाबाट उम्मेदवार थिए। दोस्रो पटक नगरप्रमुख बनेका राणा यसपटक नगरप्रमुखको दौडमा नरहेपछि कांग्रेसका उम्मेदवार बिष्टले भारी मतान्तरका साथ एमालेका पशुपतिदयाल मिश्रलाई हराएका छन्।
हुन त नेपालगन्जका दोस्रो नगरप्रमुख कृष्णजंग शाह कांग्रेसकै प्रतिनिधि थिए तर शाहको कार्यकालपछि नेपालगन्जको नेतृत्व कांग्रेसको हातबाट फुत्किएर पञ्चायत पक्षधरहरूको हातमा गयो। नगरप्रमुखका रूपमा हालसम्मका ११ कार्यकालमध्ये ६ कार्यकाल त पञ्चायत पक्षधरले नै सम्हाले। पहिलो नगरप्रमुख मुलचन्द आजाद स्वतन्त्र रूपमा मेयर चुनिएका थिए।