काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन लोकतन्त्रको मानक भएको बताएका छन् । उनले पञ्चायतमा पनि निर्वाचनमा राज्यसत्ता लगाएर कब्जा गर्ने प्रयास नभएको ईतिहास सम्झाए । उनले सत्तापक्षले प्रतिपक्षीलाई सिध्याउँछु भन्ने उद्देश्यले निर्वाचनमा भनेको पनि आश्चर्य व्यक्त गरे ।
संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमाले लोकतन्त्रको लागि ७ दशकदेखि नै लडेर आएको सुनाए । उनले एमाले लोकतान्त्रिक मूल्य र मान्यताको लागि लडेर आएको पार्टी भएको सुनाए । उनले एमाले संविधान नमान्ने पार्टी नभएको जिकिर गरे । उनले एमाले आजको लोकतान्त्रिक व्यवस्था ल्याउन योगदान गर्ने पार्टी भएको उल्लेख गरे । उनले एमाले बहुदल आएपछि फुत्त निस्किएर भाग लिएको पार्टी पनि नभएको बताए । उनले एमाले राष्ट्रघाती र देशद्रोही पार्टी पनि नभएको स्पष्ट पारे ।
उनले निर्वाचन धाँधलीरहित हुनुपर्नेमा पनि जोड दिए । उनले यसपटक स्थानीय तहको निर्वाचन मुस्किलले सम्पन्न गरिएको सुनाए । सरकारले निर्वाचन सार्नको लागि अनेक प्रयत्न गरेको पनि स्मरण गराए । उनले निर्वाचनमा भोट पाउनको लागि रुकुममा हत्या गर्नेसम्मको काम भएको आरोप लगाए । उनले हुम्लामा मतदान भैसकेपछि मतगणनाको क्रममा पनि हत्या भएको स्मरण गराए । त्यस्तै, ताप्लेजुङ र उदयरमा पनि हत्या भएको ओलीले सुनाए ।
उनले विभिन्न ठाउँमा मतदाताहरु घाईते भएको पनि आरोप लगाए । उनले मतदाताहरुलाई आक्रान्त बनाउने काम भएको आरोप लगाए । उनले निर्वाचनको क्रममा सहादत प्राप्त गर्नेहरुप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरे । उनले निर्वाचन भएको १४ सम्म पनि परिणाम नआएको गुनासो पोखे । उनले निर्वाचन स्वच्छ हुन नसकेको कारण आज परिणाम ढिलो आएको दाबी गरे । उनले निर्वाचनको क्रममा सत्ता पक्षले बुथ कब्जा गर्दा प्रहरी पनि निरीह भएर बसेको थियो भन्ने आरोप लगाए । उनले उम्मेद्धवारहरुमाथि आक्रमण भएको पनि सुनाए ।