काठमाडौं, १४ जेठ । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले संसदमा एकसाथ प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । उनले देउवाले चीनलाई सशंकित गराएको आरोप लगाए । ओलीमाथि लिपुलेक र कालापानीसम्बन्धी पुस्तक प्रधानमन्त्री हुँदा रोक लगाएको खुलासा गरे ।
‘चीनलाई सशंकित गराएर र अमेरिकी कित्तामा लगेर नेपालको हित हुँदैन,’ सदनका नीति तथा कार्यक्रममाथिको छलफलमा पोखरेलले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति सचेत हुन जरुरी छ ।’ उनले कालापानीको विषयलाई नीति तथा कार्यक्रममा छाडेको र खुट्टा कमाएको आरोप देउवामाथि लगाए ।
पोखरेलले केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा लिपुलेक र कालापानीसम्बन्धी पुस्तकलाई रोक लगाएको खुलासा गरेका छन् । ओलीले राष्ट्रियताको कुरा गर्ने र काम फरक गर्ने गरेको आरोप समेत लगाए ।
‘प्रतिपक्षी दलका नेता केपी ओलीले राष्ट्रियताबारे लामो प्रवचन दिनुभयो,’ उनले भने, ‘राष्ट्रियताको कुरा गर्ने तर म शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक, कालापानीसम्बन्धी पुस्तकलाई उहाँले रोक लगाउनुभयो ।’ लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपाली भू-भाग नक्शामा राखेपछि सरकारका तर्फबाट पुस्तक समेत तयार गरिएकोमा ओलीकै निर्देशनमा रोक लगाइएको पोखरेलको भनाई थियो ।
पुस्तक प्रकाशन गर्न लाग्दा कार्यदल बनाएको स्मरण गराउँदै भने, ‘एकपटक पनि बैठक राख्नुभएन र किताब किन रोकियो जवाफ दिनुभएन ।’ पोखरेलले राष्ट्रियताको कुरा गर्दा किताब किन रोकियो ओलीले जवाफ दिनुपर्ने माग गरे । उनले भने, ‘राष्ट्रियताको कठघरामा तपाईं पनि हुनुहुन्छ ।’