काठमाडौं, १७ जेठ । अहिले हलमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगरलाई पिठ्युमा छोएको आरोपमा प्रहरीको हिरासतमा रहेका युवकलाई छुटाउने तयारी भइरहेको छ ।
सिभिल मलभित्र फिल्म हेरेर बाहिर निस्कने क्रममा आइतबार एक युवकले आफ्नो पिठ्युमा गलत तरिकाले छोएको भन्दै मिरुनाले ती युवकलाई प्रहरीलाई बुझाएकी थिइन् ।
मिरुनाले सोमबार युवकविरुद्ध अभद्र व्यवहारको कसुरमा उजुरी दर्ता गरेपछि जिल्ला प्रसाशन कार्यालयले म्याद समेत थप गरेको छ ।
तर, सामाजिक सञ्जालमा भने नायिका मिरुनाको चर्को आलोचना भइरहेको छ । आलोचनापछि मिरुना थप लचिलो भएर समझदारीमा जान चाहेको स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा पनि उनलाई युवकविरुद्धको जाहेरी फिर्ता लिन आग्रह र सल्लाह दिइरहेका छन् । युवकले मिरुनासँग माफी समेत मागेका थिए तर मिरुना मानिनन् र प्रहरीलाई जिम्मा लगाएकी थिइन् । हलमा चलिरहेको कबड्डी ४ को टिम नै अहिले दुई पक्षको कुरा सुनेर मिलाउने प्रयास गरिरहेको छ ।
ब्यापार राम्रो गरिरहेको फिल्मलाई यो घटनाले ठुलो रुप लिदैँ गएमा ठुलो असर पर्नसक्छ ।