काठमाडौं, १५ असार । एसियन कप २०२३ आयोजनाको लागि आयोजक राष्ट्रका लागि आह्रवान गरेको बोलपत्रको म्याद थप गरिएको छ । एसियन फुटबल कन्फडेरेसन (एएफसी)ले इच्छुक राष्ट्रलाई दाबी पेशको म्याद थप गरिएको जनाएको छ ।
आयोजक हुन इच्छुक राष्ट्रहरुले अब जुलाई १५ सम्म दाबी पेश गर्न सक्ने भएका छन् । यसअघि जुन ३० सम्मको समय दिइएको थियो ।
एएफसीले चीनले आयोजक राष्ट्रको नाम फिर्ता लिएपछि नयाँ आयोजक राष्ट्रको लागि बोलपत्र आह्रवान गरेको हो । एसियन कपमा २४ राष्ट्रले सहभागीता जनाउँदै छन् ।