काठमाडौं, २३ असार । नेकपा (एकता केन्द्र) का नेता रामनारायण बिडारीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि कुनै कारबाही नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “जो इमानदार छ, उसलाई केको कारबाही हुन्छ ? उहाँलाई त बधाई, धन्यवाद पो दिनुपर्छ । कुनै वित्तीय विचलन भएको होइन । यो फजुल आरोप मात्र हो ।”
अर्थतन्त्रलाई त्राण दिन खोज्दा एमालेले निवर्तमान अर्थमन्त्री शर्माको बदनाम गराएको आरोप पनि उनले लगाए । बिडारीले थपे, “एमालेले खाँदा खाँदा खोक्रो पारेको अर्थतन्त्रलाई त्राण दिन जनमुखी बजेट बनाएकाले आत्तिएर झूटो आरोप लगाएको हो । करको दरमा हेरफेर उहाँको अधिकार हो । उहाँले बाहिरको मानिस प्रवेश गरेको झुटो कुरा हो भनिरहनुभएको छ । गएको हो कि होइन सिंहदरबारको सेक्युरिटीले जान्ने कुरा हो ? सीसीटीभी फुटेज अर्थमन्त्रीले जान्दछ ? यो वाहियात कुरा हो । ईष्र्या, डाह र जलनबाट आएको कुरा हो ।”
नेकपा एमालेले माओवादी केन्द्रका नेताहरुलाई शृखंलाबद्ध रुपमा आरोप लगाइरहेको पनि बिडारीले बताए । उनले भने, “नेकपा एमालेका विद्यार्थी र कांग्रेसको तरुण दलका केही मान्छेले सडकमा राजीनामा मागेपछि उहाँले राजीनामा दिनुभयो । माओवादी पार्टी इमानदार र जनमुखी छ । प्रचण्डले पनि राजीनामा दिनुभएको थियो । के भरतमोहन अधिकारी र विष्णु पौडेलले संसदीय छानबिन समिति बनेपछि राजीनामा दिनुभएको थियो ? एमालेले कृष्णबहादुर महराका बारेमा के गरेको थियो ? सभामुख अग्निप्रसाद सापकोटाबारे के गरेको थियो ?”
उनले फेरि पनि शर्मा नै अर्थमन्त्री हुने पनि ठोकुवा गरे । बिडारीले भने, “पार्टीले निर्णय गरेको छैन । फेरि उहाँ नै अर्थमन्त्री बन्ने सम्भावना छ । पार्टीको यस्तै मनसाय छ । हाम्रो पार्टीले उहाँलाई गलत देखेको छैन । तर कर्मचारीले गरेको भए पनि उहाँले नै नैतिक जिम्मेवारी लिनुपर्छ ।” उनले माओवादी केन्द्रले गृहमन्त्रालय लिएर अर्थमन्त्रालय छाड्न नहुने पनि औंल्याए ।
पार्टीको महासचिव अध्यक्ष प्रचण्डको खल्तीमा रुमल्लिरहेको टिप्पणी पनि बिडारीले गरे । उनले भने, “जारी केन्द्रीय समिति बैठकले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी टुंगो लगाउँछ । पार्टी अध्यक्षले महासचिवबारेमा डिस्क्लोज गर्नुभएको छैन । शीर्ष नेताहरुमध्ये कोही बन्छन् । नेताहरुको नाम अध्यक्षको खल्तीमा रुमल्लिरहेको छ ।”