असार २३, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको महासचिव पद कसलाई दिने भन्ने विषय अझै टुङ्गो लागेको छैन । जनार्दन शर्मा र वर्षमान पुनमध्ये एक जना महासचिव बन्ने पक्का भए पनि दुवै जनाले अडान नछोडेपछि अध्यक्ष प्रचण्ड गृहकार्यमा छन् ।
एक जना केन्द्रिय सदस्यकाका अनुसार एक समय जनार्दन शर्मालाई दिने सम्भावना बढेर गएको थियो । अध्यक्ष प्रचण्डको प्रिय पात्र वर्षमान पुन भए पनि अर्थमन्त्रीबाट राजीनामा दिन लगाएकाले शर्माले कुनै पनि हालतमा महासचिव पद नछोड्ने बताएको ति केन्द्रिय सदस्यले जानकारी दिए ।
तर अर्का नेताले भने पुनलाई नै महासचिव बनाउने तयारी भइरहेको दाबी गरे । शर्मामाथिको संसदीय छानबीन प्रतिवेदनले दोषी नदेखाउने विश्वास गरेर पुनः उनै शर्मा अर्थमन्त्रालयमा फर्किने भएकाले महासचिव पद वर्षमानलाई दिने पक्का जस्तै भएको ति नेताले बताए ।
नाम नबताउने शर्तमा ति सदस्यले शक्ति बस्नेत, हरिबोल गजुरेल र पम्फा भुसालले पनि महासचिव पद चाहेको भए पनि शर्मा नै प्रबल सम्भावना रहेको स्पष्ट पारे ।
संरचनामा ७ जना उपाध्यक्ष, तीन जना सचिव र एक जना कोषाध्यक्ष बनाउने भनिएको छ । महासचिव बन्ने आकांक्षा राखेका अन्य नेतालाई उपाध्यक्षमा मिलाउने प्रचण्डको तयारी छ । नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष दिने तयारी भएको छ ।
उपाध्यक्षमा नअटाएका नेतालाई सचिव बनाउने तयारी भइरहेको छ । त्यसैगरी उपसचिव पदमा पनि समेटिनेछन् । उपसचिव दुई जनाला बनाउने भनिएको छ । पदाधिकारीको कूल संख्या १५ रहने छ ।
तर पदाधिकारीमा विवाद धेरै बढ्यो भने स्थायी कमिटि, पोलिटब्यूरो र कार्यालय (सचिवालय) मात्रै गठन गर्ने विकल्प प्रचण्डले सोचेको ति केन्द्रिय सदस्यले बताए ।
माओवादीको केन्द्रिय समिति बैठक आइतबार सुरु भएको थियो । सोमबार पनि बैठक बस्यो । त्यसपछि मंगलबार र बुधबार बैठक स्थगित गरिएको थियो । महासचिवलगायत पदाधिकारी कसकसलाई बनाउने भन्ने सहमति खोज्नका लागि बैठक स्थगित गरेर प्रचण्ड गृहकार्यमा जुटेका थिए ।
तर यही समयमा अर्थमन्त्री शर्मा विवादमा परेपछि गृहकार्य प्रभावकारी बन्न सकेको थिएन ।