Logo

जग्गा प्लटिङ गर्नेहरु ऋणमा डुब्नथाले



काठमाडौं, २३ असार । जग्गा प्लटिङ धेरैको व्यवसाय नै भयो । छोटो समयमा थोरै लगानीले मनग्य आम्दानी गर्नेहरु पनि भए । यसमा हौसिएर कतिपयले करोडौं ऋण लिएर लगानी गरे । बैंकहरुले पनि त्यस्ता व्यवसायीलाई आँखा चिम्लिएर ऋण दिए ।

घर घरमा जग्गा किनबेच गराउने विचौलिया जन्मिए । कतिपयले नियमित आम्दानीको काम नै छाडेर जग्गा कारोबारमा आफूलाई होमे । तर, रुस र युक्रेनबीच भएको युद्धले देशमा मन्दी आउन थाल्यो । विदेशी मुद्राको संचिती घट्दै गयो ।

बैंकहरुमा संचिती घटेपछि समस्यामा परे । अहिले बैंकहरु रकम खोज्न थालेका छन् । जग्गा कारोबार संकटमा परेर त्यस क्षेत्रमा भएको लगानी जोखिममा परेको छ । जग्गा प्लटिङ गर्नेहरु ऋणको साँवा त के ब्याज समेत तिर्न नसकेर छटपटिएका छन् ।

सरकारले कित्ताकाटका लागि कम्तिमा ४ आना एक दाम जग्गा हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यसले जग्गा व्यवसायी समस्यामा परेका छन् । विगतमा ३ आना जग्गा समेत कित्ताकाट गरेर विक्रीवितरण गरिन्थ्यो । थोरै जग्गा धेरै मूल्यमा बेचेर व्यवसायीले मुनाफा कमाउनसक्थे र क्रेता पनि पाइन्थ्यो । अब ४ आना जग्गा खरिद गर्दा बढी मूल्य तिर्नुपर्ने भएकाले कारोबारमा मन्दी आएको छ ।

बजारमा सर्वसाधारणको रकम महङ्गिएको खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्रीमा बढी खर्चिंदा पनि जग्गा कारोबारमा असर परेको छ । यसले व्यवसायीहरु ऋणमा डुब्न पुगेका छन् । यसको भयावह असर पर्न सक्ने संकेतहरु देखिएको छ ।

विगतमा जग्गा कारोबारमा मन्दी आउँदा आपराधिक घटनाहरु बढेका थिए । अहिले पनि चेक बाउन्सलगायत विवादहरु बढ्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्