Logo

महराजी माओवादी केन्द्रको महासचिव बन्नुभएको होइन, नारायणकाजीपछिको उपाध्यक्ष होः गणेश साह



काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टी पदाधिकारी चयनका लागि १५ दिन पर्खनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीका लागि गृहकार्य गर्न भ्याउनुभएन । सहमतिका लागि अझै १५ दिनको समय माग्नुभएको छ । ३७७ केन्द्रीय समिति बन्यो । १५ सदस्यीय पुरानो स्थायी समितिसहित ४१ जनाको नाम पढ्नुभयो । पोलिटब्युरोमा पुरानो र नयाँ लिस्ट पढ्दा केही कन्फ्युजन भयो ।”
उनले कृष्णबहादुर महरा महासचिवमा चयन नभएको पनि बताए । साहले थपे, “पार्टी अध्यक्षले आफूलाई सहज हुने गरी सिंगो टिम बनाउनु होला । पार्टीपंक्तिमा द्विविधा हुनेगरी समाचार आइरहेका छन् । नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुनुभएको हो, महराजी महासचिव बन्नुभएको होइन । उहाँको स्थान नारायणकाजीपछिको उपाध्यक्ष होला । तर महासचिव र अरु पदाधिकारीको चयन भएको छैन । हेरौं, अध्यक्षले कसलाई बनाउनुहुन्छ ?”
नेता साहले राजनीतिप्रति नकारात्मक जनधारणा ठूलो चुनौती भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्