काठमाडौं, साउन १ । काठमाडौंको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदामघरमा आगलागी भएको चार दिन बित्यो । तर आगलागीका कारण र क्षतिका विवरण यकिन हुन सकेको छैन । आगलागी बुधबार दिउँसो भएको थियो । बुधबार आगलागी नियन्त्रणमा आएको पनि थियो तर बिहीबार फेरि सोही स्थानमा आगलागी भएको थियो ।
समाज कल्याण परिषद् स्थापना हुँदा अर्थात् २०४३ देखिका महत्वपूर्ण दस्तावेज, विभिन्न दातृनिकायसँग गरिएका सम्झौता र समझदारीका फाइल, विभिन्न ऐतिहासिक मठमन्दिरमा भएका सुन–चाँदीका गरगहनाका विवरणयुक्त कागजात र ऐतिहासिक पुस्तक र फर्निचर जलेर नष्ट भएका छन् । त्यस्ता वस्तुका क्षतिलाई मूल्यमा आँकलन गर्नै नसकिने सरोकारवालाहरू बताउँछन् ।
ती दस्तावेज लैनचौरस्थित परिषद्को कार्यालय उपराष्ट्रपतिको कार्यालय र निवासका लागि लिइएपछि परिषद्को कार्यालय ललितपुरको पुल्चोकस्थित पुरानो बालपरिषद्को साँघुरो स्थानमा सार्नुपरेको थियो । २०७५ मङ्सिरमा परिषद्को कार्यालय त्यहाँ सार्दा सबै दस्तावेज त्यहाँ राख्ने ठाउँ नभएपछि ‘केही समयका लागि’ भनेर भृकुटीमण्डपको सोही गोदाममा राखिएको थियो ।
‘केही समयका लागि’ भनेर तत्कालीन व्यवस्थापन गरिएका दस्तावेज तीन वर्षभन्दा बढी समय पनि स्थायी रूपमा सुरक्षित व्यवस्थापन भएन । जसकारण आगलागी हुँदा ती ज्यादै महत्वपूर्ण दस्तावेज जलेर नष्ट भए । तर कति के–के जलेर नष्ट भए भन्ने यकिन छैन ।
समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्ट आगलागीबाट भएको क्षतिको विस्तृृत विवरण सङ्कलन भइरहेको बताउन्छन् । परिषद्मा दरबन्दीभन्दा करिब आधामात्र जनशक्ति रहेको भन्दै उनले परिषद्सँग जोडिएका विभिन्न सङ्घ संस्थाका कागजातसमेत भिडाएर यकिन गर्नुपर्ने भएकाले केही बढी समय लागेको बताए ।
आगलागी भएको चार दिन बित्दा पनि के–कति क्षति भएको भनेर मुचुल्कासमेत तयार हुन नसक्दा अगालागीका कारण खोजी गर्ने कार्यमा पनि ढिलाइ भएको छ । कुनै विद्युतीय लाइन नजोडिएको गोदामघरमा मध्यबर्खाको समयमा भएको आगलागी कतै सुनियोजित त होइन भन्ने शङ्का पनि गर्न थालिएको छ । प्रहरी प्रशासनले पनि मुचुल्का नउठेका कारण त्यसमा कुनै किसिमको छानबिन अगाडि बढाएको छैन । गोरखापत्र दैनिकबाट