Logo

नेश्नलिष्ट पिपल्स पार्टीले सार्वजनिक गर्यो अवधारणा, आलंकारिक रुपमा संवैधानिक राजसंस्था हुने व्यवस्था गरिने



काठमाडौं, १ साउन । नेश्नलिष्ट पिपल्स पार्टीले आफ्नो अवधारणा सावजनिक गरेको छ । सो पार्टीले अहिलेको राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने पनि निश्कर्ष निकालेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले आफ्नो अवधारणा सार्वजनिक गरेको हो । सो क्रममा पार्टीका प्रचार–प्रसार विभागका प्रमुख हेमविक्रम सिलवालले २०४६ सालपछि आएका दलभन्दा आफूहरुको दल फरक विचारले अघि बढ्ने बताए ।

उनले भने,‘देशको स्थिति हेर्दा आज अर्थतन्त्र चौपट छ । महँगीले आकाश छोएको छ । भ्रष्टाचार मौलाएको छ । यस्तो अवस्थामा किन पार्टी खोलेको त भन्ने प्रश्न उठ्नु स्वभाविक हो । बुहुदलीय व्यवस्थामा राजनीतिलाई सुधार गर्नेपनि राजनीतिले नै हो । यो व्यवस्थाप्रति हाम्रो पार्टी सहमत छैन् । आत्माआलोचनासहित आसन्न आम निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा भाग लिने हाम्रो रणनीति छ । राजनीतिक परिवर्तनका तीन उपाय छन्, ती भनेका ब्यालेट, शान्तिपूर्ण आन्दोलन, बुलेट हो । हामी शान्तिपूर्ण रुपमा देशको विकास गर्न सकिन्छ भनेर विश्वास गरेर हिँडेका छौं । हामीसँग देश सपार्न सकिन्छ भन्ने अवधारणा छ ।’

नेपालको प्रजातान्त्रिक आन्दोलनको ३२ वर्ष व्यतित हुँदासमेत देशमा आमूल परिवर्तन र विकास नभएको उनको जिकिर छ । उनले भने,‘यो भन्दा त निर्दलीय व्यवस्था, पञ्चायती प्रजातन्त्रले नै विकास गरेको थियो, त्यो व्यवस्थाले जति विकास गर्यो, ०४६ सालपछि विकास र समृद्धि भएन । आज समाजमा उद्योग सञ्चालन गर्दा पनि नाफा कमाउने अवस्था छैन् । भएका उद्योगहरु पनि बन्द गरिएको छ । यो व्यवस्थाले देश कंगाल भयो । आलंकारिक रुपमा संवैधानिक राजसंस्था हुने व्यवस्था गर्नुपर्छ । जनताको छोरा प्रत्यक्षि निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौं ।’ उनले सांसदले त कानून बनाउने सुनाए । उनले भने,‘मुलुकको स्थिरताको लागि यो आवश्यक छ । हामी यो निर्वाचनलाई उपयोग गर्छौं ।’

उनले नेपाल कृषिप्रधान देश हो भनेरमात्रै केही नहुने भन्दै त्यसको लागि सोहीअनुसारको नीति अख्तियारी गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रो पार्टीको नीति तथा कार्यक्रम भनेको देश कृषिप्रधान भनेर गाथा मात्रै गाएर हुँदैन्, यसको लागि केही गर्नुपर्छ भन्ने छ, अहिले नेपालीहरुले ८४ प्रतिशत खाद्यान्न विदेशबाट आयात गरेर खानुपरेको छ । जनताले समयमा मल पाएका छैनन् । किटनाषक औषधी पाएका छैनन् । यो देश उर्वर भूमि हो । पहिलो र दोस्रो विश्वयुद्ध हुदा नेपालले कोरियादेखि भियतनामसम्म खाद्यान्न दियो, तर आज हाम्रो अवस्था चिन्ताजनक छ । हामी आफू सुध्रिनुपर्छ । यो निर्णय गर्ने अधिकार हामीसँगै छ । कृषि क्रान्ति गर्नुपर्छ । जनताको सुपरमार्केटको व्यवस्था नगर्ने हो भने देशको अवस्था दयनीय हुने छ ।’

सिलवालले नेपाली गाडीमा इम्बोस्ड नम्बर प्लेट हाल्ने षड्यन्त्र गरिएको पनि आरोप लगाए । उनले नेपाल सक्कली हिन्दूस्तान भएको उल्लेख गरे । उनले भने,‘हामीले परम्परा र आधुनिकता जोडेर अघि बढ्नुपर्छ । सर्वपक्षीय सम्मेलन गरौं र देशलाई निकास दिऔं । नत्रभने नेपाल ढिलो/चाँडो कोल्याप्स हुन्छ ।’

यस्तै, कार्यक्रम सञ्चालन नेता कान्तबहादुर पौडेलले गरेका थिए । उनले अहिले भएका पार्टीेले गलत गरेपछि नै आफूहरुको पार्टी जन्मिएको सुनाए । उनले भने,‘हाम्रो पार्टी अरुजस्तो ठूलो जमात होइन । केन्द्रमा ८५ जना छौं । प्रदेशमा ४५ जन, जिल्लामा ३५ जना अनि गाउँ तथा नगरमा २५ जना सदस्य रहन्छौं । वडामा १५ जनाको टिम हुन्छ । हाम्रो टोलमा पनि उपस्थित् हुन्छ । टोलमा ११ सदस्यीय संरचना छ । यसरी हर्दा हाम्रो ६५ लाख कार्यकर्ता यो देशमा उपस्थित् हुन्छन् । राजनीतिक हिसाबले हामी सधैंभरि बहुमतमा रहनेछौं ।’

कार्यक्रममा अवधारणापत्र पार्टीका सहसचिव कृष्णबहादुर केसीले वाचन गरेका थिए । अहिलेको शासन व्यवस्था पूणतय खलबलिएको भन्दै विधिको शासन स्थापना गर्ने पनि पार्टीले जनाएको छ । देशभक्त, राष्ट्रवादी र जनतान्त्रिक सबै शक्ति मिलेर नागरिक सर्वोच्चता कायम गर्ने पनि पार्टीको अवधारणा रहेको छ । सक्रिय रुपमा काम गर्न नसक्ने अशक्त सदस्यहरुको लागि खातामा पनि प्रति महिना यथेष्ट रकम जम्मा गर्ने योजना पनि उक्त पार्टीले सुनाएको छ ।

समाजवादी र पुँजीवादी दुवै आधारमा देशलाई व्यवसायीकरण गरिने र राष्ट्रले नै उद्योग सञ्चालन गरेर वैदेशिक आयात घटाउँदै ३० प्रतिशतमा सिमित गर्ने पनि पार्टीको अवधारणा रहेको छ । सो क्रममा विभिन्न पार्टी परित्याग गरी नेश्नलिष्ट पिपल्स पार्टीमा प्रवेश गरेका थिए । यसरी प्रवेश गर्नेहहरुमा कर्णबहादुर थापा मगर, गोपाल बहादुर थापा, विनोद लामिछाने, युवराज श्रेष्ठ, अनिता धिताल, विमला भट्टराई, आनन्दप्रसाद लुईटेल, राजन चुँडाल र शान्तुराम भट्टराईलगायत थिए । उनीहरुले पनि यो पार्टीले नै देश र जनताको हितमा काम गर्ने देखेर आफूहरु प्रवेश गरेको बताएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्