Logo

पशुपति क्षेत्र विकास कोषले शिव ताण्डव नृत्य गर्न नदिएपछि होमबहादुर कार्कीले दिए चेतावनी



काठमाडौं, १ असार । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा शिव ताण्डव नृत्य कार्यक्रम गर्न नदिएको भन्दै धार्मिक गुरु होमबहादुर कार्कीले विरोध जनाएका छन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफुले पशुपतिमा शिव ताण्डव नृत्य प्रदर्शन गर्न टोली तयार गरेको तर पशुपति क्षेत्र विकास कोषले त्यसको बारेमा कुरा गर्न पनि समय नदिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कार्कीले भने,‘साउन महिना शिवको महिना हो, पशुपतिमा शिव ताण्डव नृत्य देखाउन खोज्दा हाम्रो टोलीलाई पशुपति विकास कोष कार्यकारीणीले एक छिन पनि समय दिएनन् । यसमा हाम्रो घोर आपत्ति छ ।’

उनले पशुपति क्षेत्र विकास कोषलाई शिव ताण्डव नृत्यको लागि आफुलाई केही समय दिन आग्रह गरे । कार्कीले पशुपतिमा आउने दर्शकहरुलाई कुनै पनि हालतमा साउन महिनामा ताण्डव नृत्यमार्फत शिवको महिमाबारे जानकारी दिन आफुले पाउनुपर्ने जिकिर गरे ।
‘पशुपतिनाथ मन्दिर परिसरमा भोलिदेखि अभिषेकात्मकाति रुद्री लगाइदै छ । अरुलाई चाँही रुद्री लगाउन दिने तर, हामीले एकछिन शिव ताण्डव नृत्य देखाउन पनि नपाइने प्रश्न त्यो पनि हो ।’ उनले भने, ‘साउन महिनामा शिव ताण्डव नृत्य गर्न पाउनुपर्छ, पशुपतिमा आउने दर्शनार्थीहरुले शिवको महिमा बुझ्न आवश्यक छ ।’

कार्कीले शिवको महिमालाई केन्द्रीत गरेर पशुपतिबाट शिव ताण्डव नृत्य कार्यक्रमको आयोजना गर्न लागेको बताए । शिव ताण्डवबाट विश्व शान्तिको कामना गर्न खोजेको उनले स्पष्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्