Logo

चोलेन्द्रशमशेर राणाले एमालेलाई ‘भिक्टिम’ बनाए : प्रदीप ज्ञवाली



साउन २, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देउवा सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गरेको छ । एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले गरेको एक कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हरेक दृश्टीले एक वर्षको अवधिमा सरकार असफल भएको बताएका हुन् । मूल ढोका छाडेर भ्यान्टिलेसनबाट छिरेर बनेको सरकार भन्दै ज्ञवालीले सरकारको चर्को आलोचना गरेका छन् ।
उनले भने–”हरेक हिसाबले यो एक वर्ष, कुशासनको, बेथितीको र मुलुकलाई बर्बादीतिर धकेलिएको एक वर्ष हो । म तथ्यका आधारमा उल्लेख गर्न चाहन्छु । संविधानलाई यसबीचमा यति नराम्रोसँग क्षति विक्षत बनाइएको छ । संविधानको मूल मर्म भनेको विधिको शाषन हो । दलीय पद्धती हो ।”

ज्ञवालीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालिन ओली सरकारलाई पीडित बनाएको गुनासो गरे । “उनको एकल फैसलाले पोहोर साल असारमा खासगरी, देशमा कोरोना महामारी उत्कर्षमा छ, तर तिमीले स्वास्थ्यमन्त्री राख्न पाउँदैनौ । मेलम्ची लगायतका ठाउँमा बाढी पहिरोले दर्दनाक अवस्था सृजना भएको छ । तर गृहमन्त्री राख्न पाउँदैनौ । ५ जनाले सरकार चलाउन भनेर आदेश दिने । एमाले त उसको भिक्टिम हो, उनलाई जोगाउनुपर्ने कुनै कारण छैन ।” ज्ञवालीको भनाई थियो ।

अहिले प्रधानन्यायाधीशमाथि निलम्बनका परेका बेला एमालेले उनलाई जोगाउन नपर्ने ज्ञवालीले बताए । तर महाभियोगको विषय अगाडी बढ्न नदिएको भन्दै ज्ञवालीलवे ५ दलीय गठबन्धनको आलोचना गरेका छन् ।

अहिले गठबन्धन सरकार विचौलियाहरुको हातमा पुगिसकेको ज्ञवालीको जिकिर छ । गठबन्धनको आवरणमा भ्रष्टाचार, कालोबजारी र कमिसनलाई बढावा दिइएको भन्दै मुलुक डरलाग्दो अवस्थामा पुगेको ज्ञवालीले बताए ।



प्रतिक्रिया दिनुहोस्