Logo

“सीसीटीभी फुटेज पाइसकेको भए वा नपाउने निष्कर्षमा पुगेको भए थप समय किन माग्थ्यौं र ?”



काठमाडौं, ५ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं संसदीय विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग कुनै आग्रह पूर्वाग्रह नराखीकन छानबिन हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने, “बजेट आउने अघिल्लो रात अर्थमन्त्रालयका अनधिकृत व्यक्ति प्रवेश गरेको घटनालाई संसदले नोटिसमा लियो र विशेष समिति गठन भयो । हामीले आफ्नो कर्तव्य निर्वाह गरेका हौं । हामी कसैलाई फसाउने भन्दा पनि सत्यतथ्य खोज्न लागिरहेका छौं ।”
विशेष समिति सत्ता गठबन्धनको छाया नपरेको पनि उनको दाबी छ । संयोजक कर्णले भने, “विशेष समितिले आफ्नो कारबाही सुरु गरेको १० दिन पुगेको छ । विभिन्न पदाधिकारीसँग छलफल गरेका छौं । बिहान बेलुकी र बिदाको दिन पनि काम गरिरहेका छौं । अझ बुझ्न बाँकी छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पनि आज बिहान ८ बजे बोलाएका छौं । आजको दिनसम्म मलाई कसैले बचाउनुपर्छ भनेको छैन । भन्ने कुरा पनि आउँदैन । समितिका ११ जना सदस्यले पनि कसैलाई बचाऊँ वा फसाऊँ भनेर काम गरेका छैनन् ।”

छानबिनको प्रकृति र कामकारबाहीका लागि समय अपुग भएकाले संसदसमक्ष केही समय बढाउन माग माग गरेको पनि कर्णले जानकारी दिए । उनले भने, “अहिले हामी छानबिनमै छौं, निष्कर्षमा पुगेका छैनौं । छानबिनको प्रकृति र कामकारबाही नसकिएकाले केही समय बढाउन माग गरेका छौं । संसद्ले चाह्यो भने बढाउन समयावधि सक्छ । अहिले हामी यति नै समयमा काम सक्छौं भन्न सक्दैनौं । तर संसदले दिएको समयसीमाभित्र काम गर्छौं ।”
फरेन्सिक ल्याबको रिपोर्ट आएपछि थप तथ्य खुल्ने पनि कर्णले बताए । उनले भने, “सीसीटीभी फुटेज मेटिइसकेको हो कि होइन, त्यो नितान्त प्राविधिक विषय हो । मेटिइसकेको भए पनि खोज्ने सम्भावना हुन्छ । सीसीटीभी फुटेज पाइसकेको भए वा नपाउने निष्कर्षमा नपुगेको भए समय थप्न किन लाग्थ्यौं र ? फरेन्सिक ल्याबको रिपोर्ट आउन बाँकी छ । हामी त्यसलाई नै पर्खिरहेका छौं ।”

 



प्रतिक्रिया दिनुहोस्