Logo

नयाँ हवाई प्रवेश बिन्दुबारे छलफल



काठमाडौं, साउन ७ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउने विषयमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार पर्यटन मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा नयाँ हवाई प्रवेश बिन्दुबारे छलफल भएको हो ।

नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध भएमा इन्धन बचत, उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्यासमेत समाधान हुने मन्त्री श्रेष्ठले उल्लेख गरे । त्यसपछि राजदूत श्रीवास्तवले नयाँ हवाई प्रवेश बिन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास मन्त्री श्रेष्ठलाई दिलाए ।

नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भए पनि हालसम्म कार्यान्वयन नहुँदा जेठ २ गते देखि सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा सिमरा प्रवेश बिन्दुबाट मात्रै जहाज नेपाल प्रवेश गर्दै आएका छन् । नेपालले भारतसँग जनकपुर, नेपालगञ्ज, भैरहवा र महेन्द्रनगरको हवाई रुट माग्दै आएको छ ।

महेन्द्रनगर, नेपालगञ्ज प्रवेश बिन्दु त्रिभुवन विमानस्थलसँगै भैरहवाको गौतमबुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागिसमेत महत्वपूर्ण मानिन्छ । यो प्रवेश बिन्दु पश्चिमबाट आउने जहाजका लागि सिधा रुट हो । हाल एउटा मात्रै सिमरा रुट हुँदा नेपाली हवाई आकाश बढी व्यस्त हँुदै आएको छ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकालागि पनि पश्चिम प्रवेश बिन्दु सहज हुने मन्त्रालयको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्