साउन ९, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरुले क्रान्तिकारी आन्दोलनको बलमा प्राप्त उपलब्धिहरु खोस्ने षडयन्त्र गरिरहेको दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा दाहालले संघीयता नै उल्ट्याउने प्रयाससमेत भइरहेको दाबी गरेका हुन् । संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणालीलगायतका उपलब्धिी उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय भएको दाहालको भनाई छ । संविधान निर्माणमा भूमिका खेलेका दल र तिनका नेताहरु नै अहिले संघीयताको विरोधमा बोलिरहेको उनले बताए ।
दाहालले भने–“क्रान्तिकारी आन्दोलनको बलमा प्राप्त उपलब्धिहरु खोस्ने षडयन्त्र प्रतिक्रियावादीहरुले छोडेका छैनन् । हामीले संघीय लोकतात्रिक गणतन्त्र भनेका छौँ, धर्म निरपेक्षता भनेका छौँ, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीको कुरा गवरेका छौँ । यि चिजहरुलाई नै उल्ट्याउने षडयन्त्र जारी छ । कुनै न कुनै रुपमा संघीयता अनावश्यक भनेर अहिले खुलेआम, हिजो त्यसलाई स्वीकार गरेर त्यसलाई संविधानमा भूमिका खेलेका पार्टीका नेताहरुले नै त्सका विरुद्ध जेहाद छेड्न थालेका छन् ।”
दाहालले पैसा नहुने र अनेक खालका तिकदम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् । संघ प्रदेशका चुनावमा खर्च गर्न नसक्नेले र अनेक खालका तिकदम गर्न नजानेले चुनाव नजित्ने बताएका हुन् । उनले २०६४ को चुनावमा माओवादीबाट जो उठेपनि जित्ने अवस्था रहेको बताउँदै अब त्यस्तो अवस्था नरहेको बताए । गाउँपालिकाको चुनाबमा नै १० करोड रुपैयाँ खर्च गरेर जितेको जानकारी आफूले पाएको दाहालले बताए ।
“अब धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकदम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनाबमा १० करोड खर्च गरेर जितेको देखियो ठाउँ ठाउँमा । १० करोड बाफ्रे । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चनुावमा त उनीहरुले ५० औँ करोड खर्च गर्ने भए, अरबतिर जानेभयो । भनेपछि श्रमजीवी जनताले क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भन्या त सपना जस्तो हुने भयो । आउने को भयो त दलाल पुँजिपतिहरु ।” दाहालको भनाई छ ।
दाहालले अहिले कम्युनिष्ट आन्दोलनमा विचलन र विसंगती मौलाएको बताए । नरबहादुर कर्माचार्यलाई सम्झिदै दाहालले अग्रजहरुले गरेको इमानदार प्रतिबद्धता अहिले हराउँदै गएको बताए । कम्युनिष्ट सिद्धान्त र आचरणप्रति इमानदारिता नदेखिएको उनको टिप्पणी छ । आदर्शको निम्ति समर्पित भएर काम गर्ने भन्दा व्यक्तिगत पद, प्रतिष्ठा, फाइदा इत्यादीका निम्ति नै प्रतिस्पर्धा बढेको दाहालले बताए ।
उनले भने–“अहिले सिंगै कम्युनिष्ट आन्दोलन र हाम्रै पार्टीभित्र पनि थुप्रै खालका विचलन, विसंगती, ति वैचारिक विचलनको रुपमा, चरित्र र आचरणको विचलनका रुपमा धेरै चिज देखा परेका छन् । कहिलेकाँही त यो बडो डरलाग्दो जस्तो लाग्छ मलाई ।”
दाहालले थपे–“हिजो क्रान्तिकारी बन्नका लागि प्रतिस्पर्धा हुन्थ्यो । अहिले व्यक्तिवादी र अराजकतावादी स्वार्थी बन्न प्रतिस्पर्धा हुने खतरा देखापरेको छ । साच्चै चिन्ताजनक छ अवस्था ।”
परिवर्तनको रक्षा गर्दै अझै ठूला परिवर्तन गर्नका लागि तयार हुनुपर्ने दाहालले बताए । नवउदारवादको हावा चलिरहेको बेला कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको दाहालले बताए ।