Logo

नागरिकतामा सत्ता–गठबन्धनले जबरजस्ती गरेको पौडेलको आरोप (भिडिओसहित)



काठमाडौं, ९ साउन । राष्ट्रिय सभाकी सदस्य डा. विमला राई पौडेलले गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलका नेताहरूले नागरिकतासम्बन्धी विधेयकमा बलमिच्याइँ गरेको बताएकी छिन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले आज यस्तो आरोप लगाएकी हुन् ।

‘नागरिकताजस्तो विषयमा पनि सरकारले बलमिच्याइँका साथै सार्वभौम संसद्को अवमूल्यन गरेको छ । गठबन्धनका दलका नेताहरूले बलमिच्याइँ गर्नुभएको छ,’ डा. पौडेलले भनिन् । उनले विधेयकको प्रक्रियामा समेत प्रश्न उठाएकी छिन् । उनले यस विषयमा थप स्पष्ट पार्दै भनिन्– ‘जुन तरिकाले प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा यो विधेयक आएको छ– त्यो प्रक्रियामा मेरो असहमति छ ।’

नागरिकता विधेयकमा छोरा र छोरीलाई विभेद गरिएको समेत उनले बताइन् । ‘प्रस्तुत विधेयकमा एकल आमाका सन्तानलाई नागरिकता दिने कुरा छ– जसका कारण यो विधेयक फिर्ता गर्न हामीलाई अप्ठेरो छ । तर विधेयकमा अंगीकृत नागरिकता किन विवाह गरेलगत्तै दिने, यस विषयमा सरकारले स्पष्ट पार्नुपर्छ,’ उनले भनिन् ।

दक्षिण एसियाका अन्य देशमा अंगीकृत नागरिकता विवाह गरेको दुईदेखि सात वर्षपछि मात्र दिने व्यवस्था रहेको समेत बैठकमा उनले सुनाइन् । ‘विधेयकमा विभेद गरिएको छ । छोराले विदेशी बुहारी ल्याउनेबित्तिकै नागरिकता पाउने, छोरीले चाहिँ बिहे गरे नपाउने ?,’ उनको गुनासो थियो ।



प्रतिक्रिया दिनुहोस्