एजेन्सी, १० साउन । बलिउड अभिनेता रणवीर सिंह यतिबेला आफ्नो न्यूड फोटोसुटका कारण चर्चामा छन् । अहिले यो फोटोसुटका कारण रणवीर समस्यामा परेको खबर आइरहेको छ ।
मंगलबार मुम्बई पुलिसमा रणवीरविरुद्ध एफआईआर दर्ता भएको छ। जसमा रणवीरले सामाजिक सञ्जालमा नग्न तस्विर शेयर गरेर महिलाको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ । एनजीओका एक अधिकारीले रणवीरविरुद्ध यो एफआईआर दर्ता गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।
मुम्बईका एक प्रहरी अधिकारीले सामाजिक सञ्जालमा नग्न तस्बिरहरू मार्फत महिलाको भावनामा चोट पु¥याएको आरोपमा रणवीरविरुद्ध यो एफआईआर दर्ता गरिएको बताए। रणवीरविरुद्धको उजुरी सोमबार चेम्बुर पुलिस स्टेशनमा गैरसरकारी संस्था (एनजीओ) का पदाधिकारी ललित श्यामले दिएका हुन् । यो एनजीओ पूर्वी मुम्बई उपनगरमा अवस्थित छ।
उनीहरुले रणवीरको नग्न तस्बिरलाई पनि ट्विटर र इन्स्टाग्रामबाट हटाउन माग गरेका छन् । यति मात्र होइन, उजुरीकर्ताले रणवीरलाई पक्राउ गर्न पनि माग गरिरहेका छन् ।