Logo

हेटौँडाका २२ हजार परिवारले १० हजार लिटरसम्म पानी निःशुल्क पाउने



काठमाडौँ,१३ साउन । हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो ।

खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए । हेटौँडामा खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उनले बताए ।

उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ । हाल बोर्डले उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्