काठमाडौं, साउन १७ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको भवन निर्माण अनियमिततामा छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि सर्वोच्चका न्यायाधीश सशंकित बनेका छन् ।
सर्वोच्च भवन निर्माण अनियमिततामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै सहभागिता देखिएपछि अख्तियारले सर्वोच्चलाई पत्र पठाएको थियो । सर्वोच्च प्रशासनले गत १९ वैशाखमा भवन निर्माण अनियमितता अख्तियारले गर्न नसक्ने र क्षेत्राधिकारभित्र नपर्ने भन्दै पत्र पठाएको थियो ।
सर्वोच्च रजिस्ट्रार नारायणप्रसाद पन्थीले कामु प्रधानन्यायाधीश कार्कीलाई जानकारी नै नदिई भवन निर्माणका सम्बन्धमा अख्तियारले छानबिन गर्नै नसक्ने भन्दै पत्र पठाएको थियो ।
अख्तियारले ‘छानबिन गर्न मिल्ने हो कि होइन?’ भन्ने आशयमा पठाएको पत्रको जवाफ दिँदै सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले भवन निर्माण ठेक्कामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैं संलग्न रहको र उनले नै निर्णय गरेको कारण भवन निर्माणसम्बन्धी ठेक्कामा अख्तियारले न्यायाधीशमाथि छानबिन गर्न नमिल्ने पत्रमा उल्लेख थियो ।
अनियमितता विषयमा छानबिन हुने भएपछि गत शुक्रबार सर्वोच्चका दुई न्यायाधीशले कामु प्रधानन्यायाधीशकै चेम्बरमा पुगेर अख्तियारलाई ‘किन पत्र लेखेको?’ भन्दै ‘स्पष्टीकरण’ माग गरेका छन् ।
सर्वोच्च स्रोतका अनुसार गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा नेतृत्वमा गएको टोलीले कामु प्रधानन्यायाधीशसँग पत्रबारेमा सोधेको थियो ।
‘अब अदालतलाई अख्तियारको जिम्मा लगाउन खोजेको हो?’ भन्दै कामु प्रधानन्यायाधीशसामु चेम्बरमै पुगेर न्यायाधीश खतिवडाले प्रश्न गरेको सर्वोच्च स्रोतले बतायो । न्यायाधीश खतिवडासँगै गएका अन्य न्यायाधीशले ‘तुरुन्तै फुलकोर्ट बैठक बोलाउन’ माग गरेका छन् । राजधानी दैनिकबाट