काठमाडौं, साउन १७ । काठमाडौंको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् ।
२५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो निक्षेप फिर्ता गर्न माग गर्दै सञ्चालक र व्यवस्थापकविरुद्ध विभागमा उजुरी दिएका छन् ।
विभागले सहकारीका सञ्चालक तथा व्यवस्थापकका खाता रोक्का राख्न राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध पठाइसकेको छ ।विभागले कुलेश्वरस्थित सहकारीको कार्यालय, सेवा केन्द्र, डिपार्टमेन्टल स्टोर्स तथा गोदाममा सिलबन्दी गरेको छ ।
विभागले सो संस्थाका सञ्चालक र व्यवस्थापकलाई विभागमा उपस्थित गराउन नेपाल प्रहरीलाई गुहारेको छ । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका जिम्मेवार सञ्चालक तथा व्यवस्थापक विभागको सम्पर्कमा नआएको विभागका उपरजिस्ट्रार उपाध्यायले बताए ।
सो संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र विष्टलगायत अन्य सञ्चालक तथा कर्मचारी पनि फरार रहेको संस्थाका सदस्यले बताएका छन् । उपरजिस्ट्रार उपाध्यायले उजुरी दिने क्रम बढ्दै गएकाले ठगिएको रकम र सङ्ख्याबारे यकिन गर्न केही दिन लाग्ने बताए । गोरखापत्र दैनिकबाट