काठमाडौं, ६ भाद्र । राजेन्द्र कुमार केसी अर्थात् राजन केसीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई २०७० को चुनावमा काठमाडौं क्षेत्र नं १० बाट पराजित गर्दा निकै चर्चा भएको थियो । २०६५ सालको चुनावमा प्रचण्डले उनै राजन केसीलाई झण्डै दोब्बर मतान्तरले पराजित गरेका थिए । तर, पाँच वर्षमा बागमतीमा यति धेरै पानी बगेछ कि चुनावी परिणाम नै उल्टियो । प्रचण्डमाथि केसीले साँढे ७ हजार मतान्तरले जित निकाले ।
राजन केसी २०७४ को चुनावमा पनि काठमाडौं १० बाट विजयी भए । एमाले र माओवादीको तालमेल भएपनि केसीले हितमान शाक्यलाई २ हजारभन्दा केही बढी मतान्तरले जितेका थिए । सम्भवतः २०७९ मा काँग्रेससहितको गठबन्धनबाट राजन केसीलाई काठमाडौं १० का उम्मेदवार बन्ने सम्भावना छ ।
२०७९ को स्थानीय चुनावको मतपरिणाम हेर्दा काठमाडौं १० मा काँग्रेस बलियो छ । काँग्रेसले उक्त क्षेत्रमा पर्ने दक्षिणकाली र किर्तिपुर नगरपालिकाको मेयर जितेको छ । उक्त क्षेत्रमा पर्ने चन्द्रागिरी नगरपालिकाका १० वडामध्ये काँग्रेसले ७ वडा जितेको छ भने एमालेले २ र माओवादीले एक वडा जितेको छ ।
दक्षिणकाली र किर्तिपुरका मेयरका उम्मेदवारको मत र चन्द्रागिरीका २ देखि ११ का वडाध्यक्षको मतलाई जोड्दा एमालेको कुल मत २६ हजार ८५० हुन्छ । काँग्रेसको ३१ हजार १४७, माओवादीको २ हजार ९२२, राप्रपाको १ हजार ६८७ र नेकपा एसको ५८४ मत हुन्छ । यसलाई आधार मान्दा काँग्रेससहितको गठबन्धन बलियो अवस्थामा छ । एमालेले र राप्रपाको मत जोड्दा पनि सत्ता गठबन्धनको कुल मत जति पुग्दैन ।
स्थानीय चुनावपछि धेरै घटना विकास भएका छन् । स्वतन्त्र उम्मेदवारहरु पनि देखिएका छन् । यसले मुख्य दलका उम्मेदवारहरुलाई चुनौती देखिनसक्छ । पूर्वमन्त्री राजन केसीलाई लगातार तीनपटक काठमाडौं १० बाट चुनाव जितेर ह्याट्रिक गर्ने अवसर छ । उनी परीक्षण भइसकेकाले चुनौती पनि छ । एमालेले उठाउने उम्मेदवार र स्वतन्त्र उम्मेदवारको छविले पनि काठमाडौं १० को चुनावी प्रतिष्पर्धा रोचक बन्न सक्छ ।