काठमाडौं, ९ भाद्र । पूर्वराजा ज्ञानेन्द्र शाहका भिनाजु हुन् कुमार खड्ग विक्रम शाह । सारदा शाहसँग विवाह गरेका खड्ग विक्रम शाहका पूर्खा जुम्लाका राजा थिए ।
खड्ग विक्रमका तीन छोरामध्ये जेठा विकास विक्रम शाह सेनाका जर्नेल भए । माइला दिवश क्रिम शाह र कान्दा आशिष विक्रम शाह छन् ।
खड्ग विक्रम शाह र शारदा शाहको २०५८ मा भएको दरबार हत्याकाण्डमा मृत्यु भइसकेको छ । उनै शाहले धनुषाको साविक पिडारी ५ स्थित सरकारी सार्वजनिक जग्गा हडपेको खुल्यो । शाहको मृत्यु भइसकेको छ । तर, जग्गा कतिपय विक्री भएको त कतिपय उनका माइला छोरा दिवसविक्रमको नाममा नामसारी भएको देखिएको छ ।
अख्तियारमा यसमाथि उजूरी परेपछि छानविन हुँदा ८ बिगाहा १० कठ्ठा १२ धुर जग्गा गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारी समेतलाई प्रभाव र प्रलोभनमा पारी आफ्नो नाममा दर्ता गराई व्यक्तिगत लाभ लिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । तर, कुमार खड्ग विक्रम शाहको निधन भइसकेकाले अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तलाई आधार मानी उनको नाममा नै हाल रहेको कुनै सम्पत्तिबाट वा हकवालाको नाममा रहेको सम्पत्तिबाट असुल उपर हुने गरी २९ करोड ८८ करोड ८१ लाख ४३७ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले आज मुद्दा दायर गरेको छ ।
शाहको नाममा दर्ता भएका जग्गाहरु ज जस्को नाममा नामसारी भएका हुन् ती सबैलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।
मुद्दा दायर गरिएकाहरुमा धनुषाको जनकपुर उपमहानगरपालिकाका दिवश विक्रम शाह, विभा कुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजयकुमार मण्डल, चन्द्रकलाकुमारी देवी, त्रिफुला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, राम विपिन साह, सज्ञान देवी, पुष्पा सिंह, लक्ष्मी नारायण मिश्रा, नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जयकुमार गोइत, रिता देवी, किली देवी यादव, नविनकुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्रकुमार मिश्र, राधिका देवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुर रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।
तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु बस्ताकोटीले सरकारको नाममा नापनक्शा भई कायम रहेका सरकारी सार्वजनिक जग्गाहरु भिड्दै नभिडने गुठी लगत कायम गरी कुमार खड्ग विक्रम शाहको नाममा दर्ता कायम हुने गरी जग्गाधनी प्रमाणपूर्जा बनाइदिन पत्राचार गरेको आरोपपत्रमा उल्लेख छ । यसैगरी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायब सुब्बा यमुना प्रसाद पंजियारले गैरकानूनी रुपमा शाहको नाममा दर्ता कायम हुने गरी सार्वजनिक जग्गाहरु व्यक्तिको नाममा दर्ता गराउने कार्य गरेको आरोपपत्रमा उल्लेख छ । तत्कालीन खरिदार जगदेव कामतीले शाहको नाममा जग्गा दर्ताको प्रक्रियामा सहभागी भएको उल्लेख छ । उनीहरुविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।