Logo

सत्ता गठबन्धनका दलहरुले यसरी लगाउँदैछन् उम्मेदवारको टुंगो



काठमाडौं, १३ भाद्र । सत्ता गठबन्धनका पाँच दलले भदौको अन्तिमसम्ममा सिट बाँडफाँट देखि उम्मेदवारको समेत टुंगो लगाउने भएका छन् । सिट बाँडफाँट तीन चरणमा टुंगो लाग्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै जानकारी दिएका छन् ।

पहिलो चरणमा दलहरु कस्ले कति सिट पाउने भन्ने टुंगो लाग्ने भएको छ । अहिले नेपाली काँग्रेसले १००, माओवादीले ६५, नेकपा एसले ४०, जनता समाजावादी पार्टीले २५, राष्ट्रिय जनमोर्चाले कम्तिमा ३ सिट दाबी गरेका छन् । सबैको दाबी जति भएपनि घट्ने बुझिएको छ ।

काँग्रेसले ८२ या ८३ र गठबन्धनका चार दलले बाँकी सिट पाउने गरी सहमति बनाउन खोजिएको छ । विश्वस्त स्रोतका अनुसार काँग्रेसले ८५ देखि ९०, माओवादीले ४० देखि ४५, नेकपा एसले १५ देखि २०, जसपाले १० देखि १५ र जनमोर्चाले १ देखि २ सिट पाउने गरी सहमति बनाउन खोजिएको छ । केही स्वतन्त्र व्यक्तिहरुलाई पनि गठबन्धनको दलको चिन्हमा चुनाव लड्न साथ दिने गरी कुरा मिलाउन खोजिएको बुझिएको छ । प्रतिनिधि सभा सँगै प्रदेश सभाको सिटको पनि यसरी नै टुंगो लाग्ने बुझिएको छ ।

दलहरुले तालमेलमा पाउने सिटको टुंगो लागेपछि भदौको तेस्रो हप्तासम्म कुन क्षेत्र र प्रदेश कस्ले पाउने भन्ने टुंगो लाग्नेछ । त्यही आधारमा टिकट बाँडफाँटका लागि दलहरुले निर्णय लिनेछन् । भदौको अन्तिमसम्ममा गठबन्धनका सबै दलले उम्मेदवारको टुंगो लगाउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्