Logo

राधिका हमालले गाइन्, “हेरिस्यो न मायाले बेरिस्यो न”



काठमाडौं, १४ भदौ । गायिका राधिका हमालले मुलुकको प्रधानमन्त्री महिला भएको हेर्न चाहना भएको बताएकी छन् । “अहिलेका नारी सक्षम हुँदै गएका छन् । घर चलाइरहेका छन् । अफिस चलाइरहेका छन् । देश चलाउने राष्ट्रपति पनि महिला हुनुहुन्छ । मलाई एकपटक महिला प्रधानमन्त्री भएको हेर्न मन छ । यसपटक नहोला, तर मेरो जीवनमै होस्,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै हमालले भनिन् ।
यसपटक तीजमा आफूले तीन वटा गीत मात्र गाएको पनि उनले बताइन् । हमालले थपिन्, “समयअनुसार गीतको भाका परिवर्तन भइरहन्छ । पहिले पहिले चेलीबेटीलाई दुःख बेदना गाइन्थ्यो । माइतीलाई भेट्न नपाएका गुनासो गाउँथ्यौं । तर अहिले त्यो समस्या छैन । कुनै वर्ष म ५३-५४ वटासम्म तीजको गीत गाउँथेँ । यसपटक तीन वटा मात्र गीत गाएँ । कार्यक्रममा उनले तीमध्ये ‘शिरमै शिरफूल टलक टलक’ र ‘हेरिस्यो न मायाले बेरिस्यो न शिवजस्तै दामी, स्वामीवाला हामी’ गाएकी थिइन् ।
आज आफू व्रत नबस्ने पनि उनले बताइन् । उनले भनिन्, “म चाहिँ आज व्रत बस्दिनँ । आज लेले लगायत पाँच ठाउँमा तीजको गीति कार्यक्रम छ । हिजो राति २ बजेसम्म पनि कार्यक्रममै थिएँ । अरु बेला हप्ताको एकचोटि बस्छु । पानी खाएर व्रत बस्छु । हामी खुसी भयौं भने, रमायौं भने दुःख बेदनालाई सजिलै भुल्न सक्छौं ।” यसपटक उनले चुनाव लक्षित ‘खबरदार आउँदै छ मंसिर चार’ पनि गाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्