काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले सबै दल मिलेर आएपनि आफ्नो दल एक्लै निर्वाचनमा जाने बताएका छन् । उनले निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार बनाउने पनि दाबी गरे । उनले भने,‘नेपालमा एमालेको विरुद्धमा सबै दलको गठबन्धन गरिएको छ, र एमालेलाई हराउने भनिएको छ । केही साथीहरु कम्युनिष्ट आन्दोलन ध्वस्त गर्न भनेर गठबन्धन बनाएर गए । माओवादी कांग्रेससँग लम्पसार परेको छ । एमालेले यो चुनावलाई सामान्य रुपमा लिएको छैन् । यो चुनाव त हाम्रो लागि वर्ग युद्ध नै हो । नेपालको आन्दोलनमा कहिल्यैपनि सामन्तको अवशेषले जित्दैनन् । गठबन्धन पाँच दलको हो, लोसपा पनि मिसिँदैछ अरे, तर एमालेले यो युद्ध जित्छ । सारा किल्लालाई हामी नष्ट गर्छौं ।’
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमालेले प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको सुनाउँदै एकल बहुमत हाँसिल गरेर एकल सरकार बनाउने पनि दाबी गरे । उनले भने,‘हामी अध्यक्ष ओलीकै ब्यानरमा निर्वाचनमा जाँदैछौं । हिजो हामीले माओवादीलाई ठीक ठाउँमा ल्याएका थियौं, जातीय सम्प्रदायिक कुरा गर्नेहरुलाई ठीक लाईनमा ल्याएका थियौं । केपी ओली सांस्कृतिक राष्ट्रवादको पनि प्रवक्ताको रुपमा आएका छन् । भपुरिवेष्ठित देशलाई भूजडित बनाउने नेता हो । हामी उहाँको नेतृत्वमा ठूलो सफलता हात पार्छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सत्तापक्षले देशलाई सिक्किमिकरण गर्नेगरि नागरिकता विद्येयक ल्याएको गम्भीर आरोप लगाए । उनले भने,‘विदेशी चेलीले नेपालीसँग विवाह गर्नेबित्तिकै नगारिकता दिने सोच गलत छ, एउटा नयाँ खालको, जसरी जनमतसंग्रहमार्फत सिक्कीम विलय भयो, नेपाललाई भारतसँग गाभ्ने, नेहरु डक्ट्रिनलाई सार्थकता बनाउनको लागि अहिलेको गठबन्धन लागेको छ । यो विद्येयकको सन्दर्भमा समितिमा पठाएर छलफल गर्ने धैर्यता यो सरकारसँग रहेन । जनताले एमालेलाई हराउँछनजस्तो मलाई लागेको छैन् । यो सरकार नालायकी हो । एसपिपीलार्ई अघि बढाउने सोचका साथ यो सरकार अघि बढिरहेको छ।’
उनले वर्तमान गठबन्धनसँग एमाले नडराएको पनि सुनाए । उनले भने,‘हामी राष्ट्रिय हितको सम्र्वद्धन गर्नेगरि अघि बढेका छौं । अखण्डताको रक्षा र मुलुक आत्मनिर्भरताको लागि, यही एजेण्डा लिएर जनताको बीचमा जानेछौं । हामी चूनाव जितेर एकल बहुमतको सरकार बनाउँछौं ।’ उनले अहिलेको सरकारबाट निश्पक्ष निर्वाचन हुनेमा आशंका व्यक्त गरे । उनले भने,‘गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा मेरो छोरोमाथि ज्यान मार्ने उद्योगको मुद्दा लागेको छ । मेरो छोरो मुलुकमा छैन् । यो सरकारले चुनाव त कब्जा गरेर जित्ने हो । जनाधार छैन् । यो गठबन्धनले निश्पक्ष चुनाव गर्छ भन्ने मलाई लाग्दैन् । हाम्रो लागि निर्वाचन जीवन र मरणको संघर्ष हो । निर्वाचन जित्नको लागि एमालेको तयारी छ ।’
उनले आफ्नो पार्टीका अध्यक्ष केपी ओलीको स्वास्थ्य राम्रो रहेको सुनाए । उनले भने,‘म चूनौति दिएर भन्न चाहन्छु–केपी ओली १८ घण्टा खट्नुहुन्छ । विरामी भनेर आक्षेप लगाउने गरिएको छ । उहाँजत्ति स्वस्थ मान्छे कोही पनि छैन् ।’ उनले वर्तमान गठबन्धन लोकतन्त्र र जनताको मत अपहरण गर्नको लागि बनाईएको आरोप लगाए । उनले आफ्नो दलले केन्द्रीय आधारमा कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारे ।
उनले भने,‘हामी केन्द्रीय आधारमा कसैसँग पनि गठबन्धन गर्दैनौं । तर, स्थानीय तहको मतको लेनदेन हुन्छ। हाम्रो एजेण्डालाई कसैले तलमाथि गर्दैन् ।’ उनले पार्टीमा अहिले १० भाई र १० बुँदे भन्ने नै नरहेको स्पष्ट पारे । उनले भने,‘पार्टीको १०औं महाधिवेशनअघि त्यस्तो थियो । अहिले महाधिवेशनपछि त्यस्तो छैन् । भीम रावल अछामबाट सर्वसम्म्त उम्मेदवार सिफारिश भएर आउनुभएको छ।’ उनले एमालेमा धेरै मान्छे प्रधानमन्त्री हुन योग्य रहेको सुनाए । तर, अहिलेको आवश्यकत्ता भनेको केपी ओली नै भएकोले भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई नै अघि सारिएको उनको स्पष्टोक्ति थियो । उनले एमालेले गलत तत्वलाई टिकट नदिने पनि सुनाए । दीपक मनाङेहरुबाट पाठ सिकेको उनको भनाई थियो ।