Logo

बागलुङबाट उम्मेदवारी दिइसकेंः चित्रबहादुर केसी



काठमाडौं, २२ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २०७४ मा जम्मा २३ सिट जितेको नेपाली कांग्रेसलाई ८० सिट दिनु गठबन्धन दलहरुको उदारता भएको बताएका छन् ।
“सबै दललाई धेरै सिट चाहिएको छ । आफ्नो पार्टीका नेताहरुको व्यवस्थापन गर्ने कुरा होला । सिट बाँडफाँटको म्याद छ । कुरा मिल्ने समय छ । कार्यदल टुंग्याउन लागिरहेको छ । २०७४ मा जम्मा २३ सिट जितेको पार्टी ८० भन्दा बढी किन लिन खोज्छ ? कुरा मिल्दै मिलेन भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न पाइहालिन्छ नि,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने ।
आफ्नो पार्टीले प्युठान र बागलुङ नछाड्ने पनि केसीले बताए । उनले भने, “अरु दलले जस्तो हामीले धेरै मागेनौं । संगठनका आधारमा प्युठान र बागलुङ मागेका छौं । प्युठानमा दुर्गा पौडेल उठ्नुहुन्छ, बागलुङबाट मैले उम्मेदवारी दिइसकें । मैले दुईचोटि जितेकै क्षेत्र हो ।”
प्युठानमा त प्रचण्डले वामदेव गौतमलाई उठाउन खोजिरहनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा केसीले भने, “दाबी गर्न पाउने छुट सबैलाई छ । वामदेव, प्रचण्ड, माधव नेपाल जो पनि उठ्न पाइन्छ । तर कसैलाई उठ्न मन लाग्यो भन्दैमा राष्ट्रिय जनमोर्चाले जितेको ठाउँ किन छाड्नुपर्छ र ?”
८२ वर्षे नेता केसीले संघीयता अभिशाप भएकाले चाँडै खारेजीमा जाने पनि औंल्याए । उनले थपे, “संघीयता टिक्दैन । यो ठाँडो मुलुकले धान्न नसक्ने अभिशाप भयो । संघीयता केले चलाउने ? देश टाट पल्टिएको छ । अब देशले सेतो हात्ती पाल्न सक्दैन ।”



प्रतिक्रिया दिनुहोस्