काठमाडौं, २६ भाद्र । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले रचनात्मक विद्रोह भन्दै आएकोमा अचेल विद्रोह भन्न थालेका छन् । उनले दुईवटा विषय उठाएर विद्रोहको चेतावनी दिएका छन् । पहिलो मंसिर ४ मा हुने चुनावमा गठबन्धनले प्रतिष्पर्धा गर्ने सिटमा नेपाली काँग्रेसले पाउने सिटमध्ये ४० प्रतिशत पाउनुपर्ने र दोस्रो काँग्रेसले एक सय सिट पाउनुपर्ने ।
काँग्रेसले सय सिट नपाए गठबन्धन गर्न नहुने भन्दै कोइरालाले विद्रोहको चेतावनी दिइरहेका छन् । सय सिट काँग्रेसले पाएमा मात्र शेखर पक्षले प्रतिनिधि सभामा ४० सिट पाउने सम्भावना रहन्छ । तर, त्यो पनि सजिलो छैन ।
शेखर पक्षधर कतिपय नेता कार्यकर्ताले विद्रोहको लागि जोड गरिरहेको छ । शेखर कोइराला आफैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटी विकल्पका लागि पूर्वतयारी गरिसकेका छन् । त्यो विकल्प भनेको काँग्रेसको विभाजन र एमालेसँग शेखर पक्षको सिट बाँडफाँट पनि हुनसक्छ । तर, त्यो सजिलो छैन ।
विद्रोहको कुरा गरेपनि शेखर पक्षधरले आफू पक्षधरलाई प्रतिनिधि सभामा कम्तिमा ३० सिट सुनिश्चित गर्न खोजेको रुपमा लिइएको छ । यसअघि चुनाव जितेकाको सिट सुनिश्चित गर्ने देखि निकटस्थहरुका लागि पनि सिट दिलाउने गरी शेखरले विद्रोहको धम्की दिइरहेका छन् । यसलाई बार्गेनिङका रुपमा लिइएको छ ।
शेखर कोइरालाले विद्रोहका जुन चेतावनी दिइरहेका छन् त्यो भनेको काँग्रेस विभाजनभन्दा पनि ठाउँ ठाउँमा विद्रोही उम्मेदवार खडा गर्ने रणनीतिका रुपमा लिन थालिएको छ । विशेषगरी तराईका जिल्ला र काठमाडौं उपत्यकामा शेखर पक्षले त्यस्तो पूर्वतयारी गरिरहेको छ ।