काठमाडौं, ३० भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ ।
प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सो प्रणालीको सुरुआत गरे ।
प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्थासमेत गरेको छ । प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली ९mमmक।लतब।नयख।लउ० मा दर्ता भए÷नभएको यकिन गरी मात्र खरिद गर्नुहुन अनुरोध गरेको छ ।
सोही अवसरमा मन्त्री कार्कीले एमडिएमएस प्रणालीले अवैधरूपमा खरिद बिक्रीको कार्यलाई रोक्ने र मुलुकको अर्थतन्त्र र मोबाइलको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । वर्तमान सरकार नीति क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको र निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउने नेपालीको अभिलाषा पूरा हुने उनको भनाइ थियो ।
उनले केही समयअघि नेपालको अर्थतन्त्रको अवस्था श्रीलङ्काको जस्तो हुन लागेको भनी भ्रम सिर्जना गर्न खोजिएको भन्दै मुलुकको अर्थतन्त्रप्रति सरकार सचेत रहेको प्रष्ट पारे । उनले भने, “सचेत हुन जरुरी थियो, तर नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुँदैन थियो र श्रीलङ्काको जस्तो हुन पनि दिनुहुन्न, हामीसँग धेरै सम्भावना छन्, यी सम्भावनालाई अवसरका रूपमा परिणत गरेर अब हामीसँग अगाडि बढ्नुको विकल्प छैन ।”
मन्त्री कार्कीले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा समुन्नत नेपाल, समृद्ध नेपाली र आगामी १० वर्षभित्रमा कम्तीमा दक्षिण एसियामा सम्पन्न मुलुकमध्येका नेपाली चिनाउने अभियान लिएर जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सूचना, सञ्चार र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भ उल्लेख गर्दै एमडिएमएस प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । रासस