Logo

३०० करोड आँकडा पार गर्ने ब्रह्मास्त्र आलियाको पहिलो र रणवीरको तेस्रो फिल्म



एजेन्सी, ३१ भदौ । रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा कमाईका हिसाबले धेरै रेकर्ड तोडेको छ । फिल्मले रिलिजको एक सातामै तीन सय करोडको आँकडा पार गरेको छ । योसँगै यसले भारतमा १६९ करोड रुपैयाँको व्यापार गरेको छ । यो फिल्म आलियाको पहिलो र ३०० करोड क्लबमा प्रवेश गर्ने रणवीरको तेस्रो फिल्म हो ।

‘ब्रह्मास्त्र’ ले रिलिजको सातौं दिन भारतका सबै भाषामा १० करोड कमाएको छ भने हिन्दी संस्करणले ९ करोड कमाएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । योसँगै यसले ग्लोबल बक्स अफिसमा १५ करोडको व्यापार गरेको छ । तर, पछिल्ला केही दिनमा फिल्मको कलेक्सनमा १५–२० प्रतिशतले गिरावट आएको छ ।

एजेन्सीको अनुुसार ‘ब्रह्मास्त्र’ ले पनि नयाँ रेकर्ड बनाएको छ । यो १०० करोड क्लबमा पुग्ने १०० औं हिन्दी फिल्म बनेको छ । आजबाट करिब १५ वर्षपछि आमिर खानको फिल्म ‘गजनी’ पहिलो पटक यो क्लबमा प्रवेश गरेको थियो । यसपछि सन् २०१० मा सलमान खानको ‘दबंग’ र अजय देवगनको ‘गोलमाल ३’ पनि १०० करोड क्लबमा सामेल भए ।

‘ब्रह्मास्त्र’ ले रिलिज हुनुअघि नै अग्रिम बुकिङमार्फत ११ करोड कमाएको थियो । जसमध्ये फिल्मले हिन्दी बेल्टमा मात्रै १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो । अग्रिम बुकिङको मामिलामा यो फिल्मले आरआरआर र केजीएफ २ लाई पनि पछाडि छोडेको छ ।

‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा भारतमा ५,०१९ स्क्रिन र विदेशमा ३,८९४ स्क्रिनमा रिलिज भएको थियो। फिल्मको वितरण अधिकार स्टार स्टुडियोसँग छ । यो फिल्म वाल्ट डिज्नी स्टुडियो मोसन पिक्चर फिल्मद्वारा विश्वव्यापी रूपमा वितरण गरिएको हो। भारतमा ५,०१९ स्क्रिनसहित विश्वभर ८,९१३ स्क्रिनमा रिलिज भएको छ।

यो फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् । फिल्ममा रणवीर र आलियाका अलावा अमिताभ बच्चन, मौनी रोय, डिम्पल कपाडिया र नागार्जुन अक्किनेनी पनि मुख्य भूमिकामा छन्। फिल्म हेरेपछि दर्शकले यो फिल्म दर्शकका लागि भिजुअल ट्रीट भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्