Logo

उम्मेदवार पुरानै, परिवेश फरक



विराटनगर, कात्तिक २ । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालीन वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई चिन्दिनँ भनेको चारैतिर फैलियो।

त्यसपछि पण्डितले कोइरालालाई चुनौती दिँदै चुनाव जितेर उनलाई लड्डु दिन विराटनगरस्थित कोइरालानिवास जाने घोषणा गरे। उक्त निर्वाचनमा कोइरालालाई पछि पार्दै जित हासिल गर्न पण्डित सफल भए। तर पण्डित आफूले घोषणा गरेअनुसार साइकल चढेर कोइरालालाई लड्डु दिन कोइराला निवास भने गएनन्।

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता कोइराला र एमालेका नेता पण्डित प्रतिस्पर्धामा छन्। अहिले मोरङ ६ मा मुख्य प्रतिस्पर्धी उम्मेदवार पुरानै भए पनि परिवेश भने बदलिएको छ। अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धन थियो, एमाले पनि एकढिक्का थियो। तर यो पटक एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी (नेकपा एस) बनेको छ। विगतको निर्वाचनमा एमालेसँग मिलेको नेकपा माओवादी केन्द्र कांग्रेस गठबन्धनमा छ। नेकपा एस पनि यही गठबन्धनमा छ।

मोरङमा एमालेले जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ। मोरङमा जसपासँग गठबन्धन भए पनि एमालेले जसपाको भागमा परेका निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। एमालेकै नेताहरू पनि स्वतन्त्र रूपमा उठेका छन्। यसैकारण जसपाका नेता तथा कार्यकर्ता एमालेप्रति सशंकित छन्। मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ५ वटा प्रतिनिधिसभा क्षेत्र एमालेलाई र एउटा जसपालाई दिने सहमति भएको थियो। यस्तै प्रदेशसभातर्फका १२मध्ये ९ वटा एमालेलाई र तीनवटा सिट जसपालाई दिने सहमति भएको थियो।

जसपाको भागमा परेको क्षेत्र नम्बर ५ मा एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उमेदवारी दिएका छन्। त्यस्तै जसपाकै भागमा परेको मोरङ ४ ९ख० मा जीवन घिमिरे र मोरङ ६ (ख) मा पर्शुराम बस्नेतलाई एमालेले आधिकारिक उम्मेदवार बनाएको छ। जसपाको भागमा परेका क्षेत्रमा कतै एमालेका विद्रोही त कतै आधिकारिक उम्मेदवार उठेका कारण मोरङमा दुई पार्टीबीचको सम्बन्धमा उम्मेदवारी दर्तासँगै खटपट सुरु भइसकेको छ। माओवादी केन्द्र, नेकपा एससँगको गठबन्धन र मोरङमा एमाले–जसपा गठबन्धनमा देखिएको खटपटीको फाइदा यो पटक कांग्रेसका उम्मेदवार कोइरालालाई हुने विश्लेषण हुन थालेको छ।

राजनीतिक विश्लेषक गिरीश भट्टराईका अनुसार मोरङ–६ मा सत्ता गठबन्धनबाट कांग्रेसका कोइराला र एमालेका पण्डित दुवै ‘हेभिवेट’ उम्मेदवार हुन्। यो पटक जित निकाल्नुपर्ने बाध्यता कोइरालालाई रहेको उनी बताउँछन्। भट्टराईले कांग्रेसभित्रका ‘डिफ्याक्टो’ लिडरका रूपमा रहेका कोइराला चार वर्षपछि पार्टी सभापति र वेटिङ प्रधानमन्त्रीका रूपमा पनि रहेकाले उनलाई यो निर्वाचनमा नतिजा पक्षमा पार्नैपर्ने बाध्यता देखिन्छ।

मोरङ ६ का जनताले पनि परिवर्तन खोजिरहेकाले चुनावी वातावरण कोइरालाको पक्षमा सकारात्मक बनिरहेको उनले बताए। मोरङमा कांग्रेसले जिते राष्ट्रिय रूपमा पर्ने प्रभाव र एमालेले जिते राष्ट्रिय रूपमा पर्ने प्रभाव फरक हुने गरेको छ। मोरङलाई जहिलै पनि कांग्रेसपछिको शक्तिका रूपमा एमालेलाई हेर्ने गरिएको छ।

एमालेका उम्मेदवार पण्डित यसअघि पटकपटक मन्त्री भइसकेका र मन्त्री हुँदा गरेका कामले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाइसकेका नेता हुन्। यसैकारण मोरङ–६ सबैको चासोको क्षेत्र बनेको छ। गत निर्वाचनमा विजयी भएका पण्डितले पाँच वर्षमा यस क्षेत्रमा गरेका कामको मूल्यांकन जनताले भोटका माध्यमबाट गर्नेछन्। पण्डित निवर्तमान सांसद भएको र यस क्षेत्रका जनताले परिवर्तन खोज्नुले जनता कोइरालाप्रति ढल्केका हुन् कि भन्ने देखिएको भट्टराईको बुझाइ छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्