वीरगन्ज, कात्तिक १३ । एक पछि अर्को तरेली परेर आएका महान् पर्वहरु मध्ये तराईमा भव्य रुपले मनाइने छठ पर्वको अन्तिम तयारी जोडतोडका साथ गरिदै छ । सूर्यको उपासना गरी मनाइने यो पर्व पवित्रताको प्रतिकका रुपमा मनाइन लागेको हो ।
ब्रतालु हरेक घरका सबै सदस्य नयाँ बस्त्र धारण गरी खानामा समेत परेज (सतर्कता) अपनाई शुद्धाशुद्धी भएर पर्व मनाउँछन् । त्यसैले यति वेला मध्य तराईको वीरगन्ज लगायतका बजारमा लत्ताकपडा र आवश्यक सरसामान किन्न सर्वसाधारणको थामी नसक्नुको भीड बढेको छ ।
बजारमा घरेलु खाद्य पदार्थको विक्री बढी हुने भए पनि स्वदेशी सामानको पर्याप्तता नहुँदा आर्थिक भार थेग्न साह्रै गाह्रो भएको सर्वसाधारणले बताए । दशैं तिहारको भन्दा पनि अहिले आर्थिक भार बढी भएको यहाँका सवाधारणले बताए ।
अहिले पर्साको सदरमुकाम तथा मुलुककै आर्थिक नगरी वीरगन्ज बजारमा सरसामान किन्नेको भिड खपिनसक्नु भएको छ । आर्थिक नगरी वीरगन्जको सस्तो बजारका रुपमा चिनिने वीरगन्ज सिटी मार्केटमा त सर्वसाधारण प्रवेश गर्न सक्ने अवस्था समेत छैन ।
सर सामानको मुल्य भने गतबर्षको तुलनामा निकै आकासिएको त्यहाँ पुगेका सर्वसाधारणले बताए । बजारमा न कुनै बजार अनुगमन न त कसैको रेखदेख छ । त्यसैले पनि बजारमा मनपरी मूल्य छ । किन्नै पर्ने बाध्यताले सर्वसाधारणको ढाड सेकिएको उनीहरुको तर्क छ ।
यता व्यापारीहरुले भने बल्ल बर्षभरी कुरेर बसेको घाटा सन्तुलन भएको बताए । रेडिमेन्ट सामानको मात्र प्रायः बाहुल्यता रहेको वीरगन्जको सिटी मार्केटका व्यापारी नितेन्द्र साह तेलीले यो पटक बल्ल व्यापारीका लागि कायापलट भएको तर्क गरे ।
रेडिमेन्ट लत्ताकपडा विक्री वितरण गर्ने प्रायः सबै व्यापारीको लागि यो पर्वका सिजनमा व्यापार सोचेभन्दा राम्रो भए पनि अन्य व्यापारीका हकमा ठिकै मात्र रहेको वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ ।
महंगीको सन्दर्भमा भने राज्यको अनुदार नीति र आयातमुखी अर्थतन्त्रले सर्वसाधारणलाई पर्वका वेला निकै सकस भएको संघका अध्यक्ष सुवोध गुप्ताले बताए । सामानको बढि मूल्यको सबैभार अन्त्वतोगत्वा आम सर्वसाधारणको टाउकोमा नै परेको संघका पदाधिकारीहरुले तर्क गरे । राजधानी दैनिकबाट