काठमाडौँ, १४ कार्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सूसुचित मतदाताको सहभागिता बढाइ बदर मत प्रतिशत घटाउन र सदर मत प्रतिशत बढाउन यस पटक मतदाता शिक्षा कार्यक्रमलाई घनिभूतरुपमा अघि बढाउने भएको छ । आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पु¥याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर सबै जिल्लामा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मतदातालाई मतदानका लागि तयारी अवस्थामा राख्न निर्वाचन व्यवस्थापन गर्ने निकायद्वारा सञ्चालन गरिने शिक्षालाई मतदाता शिक्षा भनिन्छ । मतदातालाई लक्ष्य गरी मतदानमा तिनको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरिका र मतदानको महत्वबारे बोध गराउँछ । छापा माध्यम, रेडियो, टेलिभिजन, घरदैलोलगायत आम पहुँचयोग्य सञ्चारमाध्यमबाट पनि सवै मतदाता समेटिने गरी बृहत्रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आगामी निर्वाचनका लागि यस पटक १८ भाषामा तयार गरिएको सामाग्रीलाई केन्द्रीयस्तरबाट प्रचार प्रसार गरिने भएको छ । आयोगले यही कातिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म प्रभावकारीरुपमा मतदाता शिक्षा कार्यक्रम अघि बढाउन लागेको हो । मतदाताको सहभागिता अधिक बृद्धि गराउन, सदर मतप्रतिशत बढाउन तथा हर तवरले सूसूचित मतदाता तयार गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गर्न लागिएको हो ।
विगतका निर्वाचनदेखि नै यस कार्यक्रममा स्वास्थ्य स्वयम्सेवीकाको योगदान महत्वपूर्ण रहदैआएको थियो । यस पटक पनि स्थानीय तहले उहाँहरुलाई नै न्यूनतम १० हजार भत्ता उपलब्ध गराउन आयोगले निर्देशन दिइसकेको छ ।
स्वास्थ्य स्वयमसेवीले प्रत्येक वडाका बस्तीमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतपत्रमा कसरी छाप लगाउने भनी जानकारी दिने र आफूले चाहेको उम्मेदवारलाई दिएको मत बदर नहुने गरी स्वस्तिक छाप लगाई मतपेटिकामा खसाल्ने विषय मुख्यरुपमा मतदाता शिक्षासँग जोडिएको छ । यस कार्यक्रमबाट मतदानमा सहभागी हुन प्रेरणा प्रदान गर्न, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी बनाउन, सुसूचित मतदाता तयार गर्न, अर्थपूर्ण सहभागिता जनाउन, बदरमत न्यूनीकरण गर्न, अमूल्य मतको महत्व बुझाउन र योग्य प्रतिनिधि चयन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड, ७९ लाख ८८ हजार पाँच ७० मतदाता सूचिकृत छन् । प्रतिनिधिसभा सदस्य २७५ र प्रदेशसभा सदस्य ५५० सिटका लागि निर्वाचन हुन लागेको हो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ र प्रदेशसभा सदस्यमा ३३० तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य ११० र प्रदेशसभा सदस्यमा २२० सदस्यका लागि बालिग मताधिकारका आधारमा निर्वाचन हुन लागेको छ ।
सह–प्रवक्ता सूर्यप्रसाद अर्याल भन्छन्, ‘‘प्रत्येक मतदातालाई किन मतदान गर्दैछु, मतको मूल्य कस्तो हुन्छ, कस्तो प्रतिनिधि चयन गर्नुपर्छ, त्यसले लोकतन्त्रको सुदृढीकरणका लागि कस्तो फरक पार्छ भनी अर्थपूर्ण र गुणस्तरीय मतदाता तयार गर्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन लागिएको छ ।’’
विस २०७४ मा एक करोड ५४ लाख २७ हजार नौ सय ३८ मतदाता रहेकामा एक करोड पाँच लाख ९४ हजार ४४ अर्थात ६८दशमलव६७ प्रतिशत मतदान भएको थियो । उक्त मतदानमा एक करोड ४५ हजार चार सय ७४ अर्थात ९४दशमलव८२ मत सदर भएकामा पाँच लाख ४८ हजार पाँच सय ७० अर्थात पाँच दशमलव१८ प्रतिशत मत बदर भएको थियो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वासनीय र मितव्ययी तुल्याउन त्यस्ता मतदाताको महत्वपूर्ण भूमिका हुन्छ । उनी भन्छन्, “सूसुचित मतदाताले नै निर्वाचन आचारसहितालाई कहाँ, कसले, कसरी पालना वा उलङ्घन ग¥यो भनी बुझने र मूल्याङ्कन गर्ने काम गर्छ ।”
पछिल्लो समय आयोगले निरन्तर शिक्षाका रुपमा मतदातालाई सूसुचित तुल्याउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । निर्वाचनका माध्यमद्वारा देशमा लोकतान्त्रिक संस्था सवल हुने, जनताको आवाज मुखरित हुने र नागरिकले राजनीतिक छनोटको अधिकार पाउने हुनाले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डका रुपमा लिने गरिन्छ । मुलुकको निर्वाचनसँग जोडिएका सरोकारवालासँगको छलफल, परामर्श, समीक्षा र अन्तक्र्रियामा प्राप्त सुझाव र पृष्टपोषणका आधारमा आयोगले आसन्न निर्वाचनलाई लक्ष्य गरेर विभिन्न नीति तथा रणनीति बनाएर मतदाता शिक्षा कार्यक्रम तयार गरेको हो । आयोगले यस पटकको निर्वाचनमा केही सुधार परिमार्जनका साथै केही नवीन मतदाता शिक्षा कार्यक्रम पनि बनाएको छ ।
निर्वाचनको तयारीका लागि आयोगले तीव्र गतिमा तयारी गरिरेहको छ भने राजनीतिक दल पनि आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा प्रवेश गरिसकेका छन् । मौसमका हिसाबले वातावरण चिसो हुँदै गए पनि चुनावी राजनीतिक सरगर्मीले टोल, वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र समग्रमा देशकै माहोल तातेको छ ।
राजनीतिक सरगर्मी बढेसँगै राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिता उलङ्घनका घटना सुनिन थालेका छन् । आयोगले त्यस्ता गतिविधिबारे के कसो भएको हो भन्नेबारेमा स्पष्टिकरण सोध्ने र जानकारी लिने काम निरन्तररुपमा गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने,“दल वा उम्मेदवारले आचारसंहिता बाहिर गएर गरिएका गतिविधिबारे अनविज्ञता प्रकट गर्न मिल्दैन । आचारसंहिताविपरीत गरिएका गतिविधिलाई रोक्न तत् तत् उम्मेदवार र दल अग्रसर हुनैपर्छ ।” रासस