Logo

बदर मत प्रतिशत घटाउन मतदाता शिक्षा कार्यक्रम अघि बढाउदै आयोग



काठमाडौं, कात्तिक १५ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बदर मत प्रतिशत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने भएको छ । आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट, पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पुर्‍याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ ।

निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर सबै जिल्लामा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदातालाई लक्षित गरी मतदानमा उनीहरूको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरीका र मतदानको महत्त्वबारे बोध गराउँछ ।

छापा माध्यम, रेडियो, टेलिभिजन, घरदैलोलगायत आम पहुँचयोग्य सञ्चारमाध्यमबाट पनि सबै मतदाता समेटिने गरी बृहत् रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आगामी निर्वाचनका लागि यसपटक १८ भाषामा तयार गरिएका सामग्रीलाई केन्द्रीय स्तरबाट प्रचार प्रसार गरिने भएको छ । आयोगले यही कात्तिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म प्रभावकारी रूपमा मतदाता शिक्षा कार्यक्रम अघि बढाउन लागेको हो । मतदाताको सहभागिता अधिक वृद्धि गराउन, सदर मतप्रतिशत बढाउन र सूसूचित मतदाता तयार गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गर्न लागिएको बताइएको छ ।

विगतका निर्वाचनदेखि नै यस कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाको योगदान महत्त्वपूर्ण रहँदै आएको थियो । स्वास्थ्य स्वयंसेविकाले प्रत्येक वडाका बस्तीमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतपत्रमा कसरी छाप लगाउने भनी जानकारी दिने र आफूले चाहेको उम्मेदवारलाई दिएको मत बदर नहुने गरी स्वस्तिक छाप लगाई मतपेटिकामा खसाल्ने विषय मुख्य रूपमा मतदाता शिक्षासँग जोडिएको छ ।

यस कार्यक्रमबाट मतदानमा सहभागी हुन प्रेरणा प्रदान गर्न, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी बनाउन, सुसूचित मतदाता तयार गर्न, बदर मत न्यूनीकरण गर्न, मतको महत्त्व बुझाउन र योग्य प्रतिनिधि चयन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड, ७९ लाख ८८ हजार पाँच ७० मतदाता सूचीकृत छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्