काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले बझाङस्थित जयपृथ्वी एफ.एम.लाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्र पठाएको हो ।
जयपृथ्वी एफ.एम. बझाङलाई प्रचलित कानून बमोजिम आवश्यक कारबाहीका गर्नका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको आयोगले जनाएको छ ।
प्रेस काउन्सिल नेपालबाट जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (संशोधन समेत) बमोजिम सञ्चार प्रतिष्ठान र पत्रकारका पेशागत आचरण र व्यवहारहरूको आवश्यक नियमन गर्न सक्ने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा २५, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने’ व्यवस्था छ ।
त्यस्तै, सोही दफाको खण्ड (घ) मा ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने उल्लेख छ ।