बाँके, कात्तिक २७ । गाउँमा जाने बाटो छैन । खेतबारी भएर हिँड्नुपर्छ । राप्ती नदीमा बाढी आउँदा सबैभन्दा पहिला त्यही गाउँ डुबानमा पर्छ । यो गाउँमा न बिजुली छ, न त स्कुल ।डुडुवा गाउँपालिकाको वडा नं। २ मा पर्ने रामनगर पाँजाको कुरा हो यो । राप्ती नदी र डुडुवा खोलाले घेरिएको यो गाउँका बासिन्दालाई नजिकको बजार बेतहनी चौराहा आउन नै सकस छ । सदरमुकाम नेपालगञ्ज त धेरै टाढाको कुरा भयो ।
रामनगर पाँजा नेपालगञ्ज बजार समेटिएको क्षेत्र नं २ मा पर्छ । चुनाव आइपुग्नै लाग्दा उम्मेदवारहरू गाडी टाढै राखेर मोटरसाइकलमा रामनगरमा पुगेछन् । चुनाव न हो, उम्मेदवारहरूले फेरि त्यही पुरानै आश्वासन दोहो¥याएर फर्किएका छन्, ‘गाउँमा बाटो बनाइदिन्छु । राप्ती नदीमा तटबन्ध बनाउँछौं । सोलारको व्यवस्था गर्छौं । स्कुल बनाइदिन्छौं ।’रामनगरमा करिब १ सय ५० घर छन् ।
राप्ती नदीमा तटबन्ध नहुँदा र पश्चिमतिरबाट डुडुवा खोलाको बाढीले रोक्दा रामनगरका बासिन्दालाई बाढी आएको बेला भागेर ज्यान जोगाउन पनि गाह्रो छ । गत असोजको अन्तिमतिर आएको बाढीमा रामनगरका सबै जना गाउँपालिकाले हालै बनाएको आश्रयस्थलमा बसेर ज्यान बचाएका थिए । पाँच दिनसम्म आश्रयस्थलमा बसेका उनीहरू पानी कम भएपछि घर फर्किएका थिए ।
अझ दुःखको कुरा त पानीले नै उठीबास लगाउने गाउँमा खानेपानीको चरम अभाव रहेको छ । डुबान क्षेत्र भएकाले धारा पनि डुब्छ । धारा नै डुबेपछि पानी खान समस्या हुने गर्दछ, शुद्धपानीको त कुरै छोडौं ।चुनाव आयो । सुकिलामुकिला नेताहरू धुलैधुलो सडक पार गर्दै रामनगरमा पुगिरहेका छन् । ‘सधैंको चुनावझैं यसपालि पनि बाटो, बिजुली, तटबन्ध बनाइदिने बाचा गरेका छन्’, स्थानीय सुन्दरलाल लोनियाले भने– ‘अहिले मलाई जिताइदिनुस्, सबै समस्या समाधान गर्छु भन्छन् । चुनाव जितेपछि फर्केर आउँदैनन् ।’
रामनगर पुग्दा अझै पनि नेपालमा यस्ता गाउँ छन् भनेझै लाग्दछ । मधेसी समुदायको बसोबास रहेको यो ठाउँमा वर्षौंदेखि बसे पनि लालपुर्जा कसैसँग छैन । बाढीका कारण शुरूमा २०३३ सालमा गाउँलेको उठीबास लागेको थियो । अन्यत्र गएर बसेका स्थानीय पछि फर्किएका थिए । केहीको अन्यत्र पनि थोरै खेतबारी छन् । असोजमा डुबेको धान गाउँलेले स्याहारेका छन् । फुसको सानो घरमा धान राख्नेसमेत ठाउँ छैन । आँगनमै पालमाथि राखिएको छ ।
स्थानीयवासी आज्ञाराम गोडियाले आफूहरूले कुरा राख्ने मौका नै चुनावको बेलामा पाउने बताए । ‘चुनावको बेलामा आउने नेताहरूले हाम्रो कुरा सुन्छन् । तर, उनीहरूले भोटका लागि मात्रै हाम्रा कुरा सुनेको हो भन्दा हुन्छ’, गोडियाले भने– ‘चुनावका बेलामा सबै समस्या समाधान गर्छौं भन्नेहरू त्यसपछि अर्को चुनावसम्म आउँदैनन् ।’ उनले चुनावका बेलामा नेताहरूले राप्ती नदीमा तटबन्ध बनाएर डुबान रोक्ने, बाटो बनाइदिने मात्रै होइन, टिनको घर, सोलारबत्तीसमेत दिने आश्वासन दिने गरेको बताए ।
रामनगरवासीलाई नेताहरूले सधैं ढाँट्छन् भन्ने थाहा छ । अर्को बाटो त छैन, भोट त दिनैपर्छ । आएकामध्ये अलि कम ढाँट्नेलाई भोट हाल्छन् । अनिता केटवले असोजमा डुबान भएर ५ दिनसम्म आश्रय स्थलमा बस्दा नआएका नेताहरूले अहिले भोट माग्न आइरहेको बताए । यो गाउँ असोजमा डुब्दा पालिकाले एक÷एक किलो चिउरा दिएको थियो । स्थानीयले व्यंग्य गरे, डुबानका बेलामा दिएको एक किलो चिउराले हामी अमर भयौं । बाँचिरहेका छौं ।
डुडुवा गाउँपालिका वडा नं १ मा पर्ने कृषि चौफेरीको समस्या रामनगरको भन्दा कम छैन । यो ठाउँमा जान पनि बाटो छैन । नेताहरू मोटरसाइकलमा गएर भोट मागिरहेका छन् । स्थानीय भिखाई पासीले वर्षेनी डुबानमा पर्ने कृषि चौफेरीमा डुबानका बेलामा नआउने नेताहरू चुनावको बेलामा आश्वासन बाँड्न आइरहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट