Logo

मन्त्री चौधरीले गरे संसदीय यात्राको पहिलो खुड्किलो पार



काठमाडौं, मंसिर ९ । सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गरेका छन् ।

चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गरिन् । उनीहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो ।

विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद निर्वाचित हुनुभएका चौधरी २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए। समाजवादीमा प्रवेश गरेपछि भने उनी पहिलोपटक सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनी विजयी भएका हुन् ।

विसं २०२९ चैत १० गते दाङको गठवामा भगवतीप्रसाद र थिवरात्री चौधरीको पुत्रका रुपमा जन्मिएका उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । राजनीतिसँगै हाल उनी विद्यावारिधि अध्ययनरतसमेत छन् ।

विसं २०४५ मा नेकपा मालेको सदस्यता लिएर उनले राजनीति सुरु गरेका हुन्। विसं २०४६ मा उनले अनेरास्ववियु छैटौँको सदस्यता लिए । चौधरी २०४७ सालमा एमाले प्रवेश गरे। विसं २०४८ मा चौधरीले अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीमा बसेर काम गरे। उनी २०७५ सालमा एमाले र माओवादी एकता केन्द्र भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य बने । चौधरीले नेकपाको दाङ जिल्लाको सहइञ्चार्ज भएर पनि काम गरे ।

विसं २०७४ मा सांसदमा निर्वाचित भएपछि उनले संसद्का अर्थ समितिमा बसेर पनि काम गरे । विकास र अर्थतन्त्रमा विशेष रुची राख्ने मन्त्री चौधरी २०५९ सालमा भएको प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा तीन महिना जेल बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्