Logo

जसपालाई सरकारमा जाने जनादेश छैनः पार्टी प्रवक्ता



काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले मधेस प्रदेशमा आफ्नो पार्टी ठूलो नै रहने दाबी गरेका छन् ।
‘मधेस प्रदेशमा अहिलेसम्म सबभन्दा ठूलो दल जसपा नै देखिएको छ । प्रदेशमा १२ सिट जितिसकेको छ । नेपाली कांग्रेस र नेकपा एमाले पनि जसपाकै हाराहारीमा देखिएका छन् । जनमत पार्टीले पनि ५ सिट जितेको छ । अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिइएन भने जसपाबाहेकको सरकार बन्न सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।
मधेस प्रदेशमा जसपाको अपेक्षाभन्दा कम सिट आएको पनि उनले स्वीकारे । सुमनले थपे, ‘मधेस प्रदेशमा माओवादी लगभग सिद्धिएको जस्तो अवस्थामा छ । नेकपा एमाले बढेको छ । कांग्रेस ठिकठाक भएर आएको छ । जनता समाजवादी पार्टीले अपेक्षाभन्दा कम सिट प्राप्त गरेको छ । तर हामीले जनताको आशीर्वादलाई ऊर्जाको रुपमा लिएर अघि बढ्नुपर्छ ।’
उनले पार्टी अध्यक्ष उपेन्द्र यादव नै पराजित हुनु दुर्भाग्यपूर्ण भएको बताए । सुमनले भने, ‘हाम्रा ठूला हस्ती नै पराजित हुनुभएको छ । सप्तरीमा पार्टी अध्यक्षलाई गुमाउनु परेको छ । हामी हर्षित छैनौं । आम कार्यकर्ताको मनोबल खस्केको छ । हामीले एमालेसँग तालमेल गरेका थियौं । कहीं इमानदारीपूर्वक साथ रह्यो । कहीं साथ दिन सकेन । हामी यसको छिटै समीक्षा गर्छौं ।’
नेता सुमनले जसपाको अहिलेको अवस्थालाई एउटा अन्तरालका रुपमा लिएको पनि बताए । उनले थपे, ‘जसपाले दुईदुई पटक फुट बेहोर्‍यो । त्यसले कार्यकर्तामा मानसिक असर परेको छ । तर अब आगामी पाँच वर्षका लागि यसले गम्भीर शिक्षा दिएको छ ।’
मधेस प्रदेशमा सीके राउतको उदय स्वाभाविक भएको पनि सुमनले औंल्याए । उनले भने, ‘मधेसमा जनताले नयाँ पार्टीलाई रुचाएको देखियो । सीके राउतको पार्टीले एक सिट जितेको छ । मधेसका जनताले उसलाई मौका दिएको छ । तर मधेसमा हिजो पनि एउटै पार्टी थिएन । आज पनि एउटै पार्टी छैन । हामी आगामी पाँच वर्ष काम गरेर देखाउँछौं । जसपा फेरि विजेता बन्न सक्छ ।’
अब जसपा फेरि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा सामेल हुन्छ भन्ने प्रश्नमा सुमनले भने, ‘अहिले सबै मतपरिणाम आइसकेको छैन । सत्तागठबन्धनमा खटपट भएन भने उसैको सरकार बन्ला । शेरबहादुरजीले हामीलाई कुनै आह्वान गर्नुभएको छैन । तर जसपालाई सरकारमा जाने जनादेश छैन । प्रतिपक्षमा बस्ने जनादेश पाएका छौं । त्यसैले सत्तारोहणको विचार बनाएको छैन ।’ उनले प्रत्यक्ष र समानुपातिक गरी १० भन्दा बढी सिट जसपाले ल्याउने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्