काठमाडौं, मंसिर ११ । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद बनेका छन् ।
माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका हुन् । सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका छन्। रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गरे ।
मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएका थिए । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भएका छन्। महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले) नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए।
विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उनी डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष भएपनि यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा लडेका थिए ।