काठमाडौं, २२ मंसिर । देशमा पछिल्लो समय भारतको विरोध गरेर राष्ट्रवादी देखिने प्रतिष्पर्धा नै चलेको छ । सबैभन्दा अगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखिएका छन् जो कुनैबेला भारतका समर्थक थिए र अहिले कट्टर विरोधी देखिएका छन् ।
कतिपयले ‘भारतको विरोध गर्नेहरु नै राष्ट्रवादी हुन् भन्ने भाष्य निर्माण गरदिएका छन्। त्यही भाष्यलाई अहिले जितेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रयोग गर्दै आफ्नो राजनीतिक रोटी सेक्ने प्रयास गरेका थिए।
भारतसँगको सीमा र तटबन्धको विषयलाई लिएर काठमाडौंमा चर्को मुद्दाहरु उठाइयो । तर, सरकारले भने उनीहरुको मुख बन्द गराइ दिएको छ। जिल्ला प्रशासन कार्यालयमार्तफ समस्या समाधानका लागि सहमति भएको छ । सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक नोट पठाएको छ। सरकारले कूटनीतिक नोट पठाएसँगै विरोध गर्नेहरुको मुख बन्द भएको छ।
रवि लामिछानेले यही मुद्दालाई उचालेर आफूमाथि लागेको नक्कली नागरिकताको आरोपबाट ध्यान मोड्न खोजेका थिए। भ्रमहरु नफैलियोस् भनेर नेपाल र भारत दुवै देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल गरेर समाधानको बाटो निकाले ।
आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर सांकेतिक विरोध भएको थियो। ढुंगामुढा प्रहारबाट घाइते भएको विषय उठेको थियो। तर, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने समाचारहरुमा भनिएजस्तो ढुंगामुढा नभएको र कोही पनि घाइते नभएको बताएका छन्।
रवि लामिछाने नेतृत्वको पार्टीले दुई छुट्टाछुट्टै विज्ञप्ति निकालेर महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको र एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै गलत प्रचार गरेको विषय उठेको छ ।
भारतीय पक्षले सहमतिमा मात्रै तटबन्ध निर्माण गर्ने विषयमा सहमति जनाएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। छलफलमा उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरेका थिए।
छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको पनि जानकारी दिए। भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो।
भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको जनाएको छ। सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए।
भारतले विगत दुई वर्षदेखि दार्चुला सदरमुकामको पारीपट्टी पर्ने धार्चुला सहरलाई सुरक्षित गर्नका लागि दुई किलोमिटर तटबन्ध निर्माण कार्य गरिरहेको जानकारी दिएको छ।