काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्ब- ११ का वडाध्यक्ष हिरालाल तण्डुकार (काका)लाई मेयर बालेन शाहले महापुरुष चलचित्र हेर्न जान प्रस्ताव राखे । ६ महिना अगाडि क्यान्सर रोगबाट श्रीमती गुमाएका काकालाई उक्त चलचित्र हेर्न बालेनले सँगै लाने निधो गरे । तर, फिल्म हलमा एकैपटक प्रवेश गर्न भने पाएनन् ।
मेयर बालेनको प्रस्तावमा महापुरुष हेर्न पुगेका काकाले जब फिल्म हेरे आफ्नै कहानी जस्तै लाग्यो । श्रीमती गुमाएर एक्लोपनको महसुस गरिरहेका काकालाई चलचित्रको कथाले आफ्नै कहानी चोरेको भान भयो ।
महापुरुष चलचित्रमा जस्तै वडाध्यक्ष काकाको घरमा पनि सुगा पालिएको छ । श्रीमती बितेपछि सुगाले गर्ने व्यवहार महापुरुष चलचित्रमा पनि मिल्दोजुल्दो देखिएको उनी सुनाउँछन् । चलचित्रको कहानी आफ्नो जीवनको कहानीसँग मेल खाएपछि आँसु थाम्न नसकेको काका बताउँछन् ।
महापुरुष चलचित्र हेरेपछि काकाले फिल्म निर्देशक प्रदीप भट्टराईलाई भेटेर सबै कुराको बेलिविस्तार लगाउन भ्याएका छन् । उक्त अवसर भने बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले जुटाइदिएका हुन् । महापुरुष आफ्नै जीवनमा आधारित रहेको र चलचित्रले आफ्नो कहानी चोरको भन्दै काकाले निर्देशक भट्टराईलाई व्यंग्य समेत हान्न भ्याएका छन् । काकाले भट्टराईसँग महापुरूष-२ बनाउँदा आफूलाई पनि खेलाउनु पर्छ भन्न समेत पछि परेनन् । भट्टराईले आफ्नो कुरालाई सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।
महापुरुषमा श्रीमती गुमाएर एक्लो जीवन बिताइरहेका पुरुषले दोस्रो विवाह गरेर नयाँ जीवन सुरु गरेका छन् । क्यान्सरबाट पीडित श्रीमती गुमाएका वडाध्यक्ष काकालाई महापुरुषमा जस्तै जोडी बाँधेर नयाँ जीवन सुरुवात गर्न दबाव परेको अनुमान लगाउन सकिन्छ ।