काठमाडौं, २९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले अध्यादेश अध्ययन भइरहेको बताएका छन् ।
‘राष्ट्रपतिले अध्यादेश रोक्नुभएको छैन । मिडियामा कुरा आइरहेको छ । विभिन्न वकिल र नागरिक समाजको सुझाव पनि मनन गर्नुपर्यो । अहिलेको परिप्रेक्ष्यमा के गर्दा राम्रो हुन्छ, राष्ट्रपतिले त्यो गर्नुहुन्छ । नेपाली दाजुभाइ, दिदीबहिनीको भावनालाई सम्मान हुने गरी कदम चाल्नुहुन्छ । उपयुक्त समयमा उपयुक्त निर्णय लिनुहुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
कामचलाउ सरकार अध्यादेश ल्याएकाले अध्ययन गर्नुपरेको पनि उनले स्पष्ट पारे । यादवले भने, ‘संसदीय पद्धतिको नर्म्स के हो ? अहिले नै ल्याउने पर्ने कुरा हो कि होइन ? सबै कुरा संविधानमा लेखिएको हुँदैन । संविधानमा अध्यादेश रोक्न सकिने नभने पनि अध्ययन गर्न सकिने त भनेको छ नि । पहिलेको राष्टपतिले सात पटक अध्यादेश रोक्नुभएको कुरा पनि सम्झनुपर्छ नि ।’