काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसकी नेतृ लक्ष्मीकुमारी ठाकुर (हजाम) ले आफ्नो एक नम्बर प्रदेशसभाको लागि पार्टीबाट समानुपातिकतर्फ मधेशी कोटामा दुई नम्बरमा नाम रहेको भएपनि पार्टी नेतृत्वले आफूलाई सांसद बन्नबाट वञ्चित गरेको आरोप लगाएकी छिन् ।
उनले आफू प्रदेश नम्बर १ मा समानुपातिकतर्फ एकमात्रै मधेशी उम्मेदवार हुँदापनि जनजातितर्फका उम्मेदवार लखकीकुमारी गनगाइलाई मधेशीतर्फ राखेर उनैलाई सांसद बनाईएको आरोप लगाईन् । त्यसको विरुद्धमा आफू उच्च अदालत पाटन पुगेको उनले जनाईन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेकी छिन् । उनले भनिन्–‘यसको विरुद्धमा निर्वाचन आयोगमा समयमै दाबी तथा विरोध गरेको थिएँ ।’
उनले पर्याप्त प्रमाण हुँदापनि आयोगले निर्णय नगरेको कारण आफूले बाध्य भएर उच्च अदालत, पाटनमा रिट निवेदन दर्ता गराएको स्मरण गराईन् । पार्टी कार्यालय, निर्वाचन आयोग, सभापति शेरबहादुर देउवा, मधेशी आयोग, वडा कार्यालय र आफ्नो कोटामा सांसद बनेकी लखीकुमारीलाई विपक्षी बनाईएको पनि उनले स्पष्ट पारिन् ।
उनकाअनुसार लखीकुमारी आदिवासी जनजाति महिला महासंघकी केन्द्रीय उपाध्यक्ष हुन् । अहिलेपनि उनी यही पदमा कार्यरत छिन् । उनले पार्टी नेतृत्वले आफूले बनाएको नियम तथा कानून पालना नगरेको गुनासो पोखिन् । उनले भने,‘म भन्न चाहन्छु, तपाईँहरु संविधानमा टेकेर काम गर्नुहोस । जनतामाँझ पटक पटक जानुपर्छ । खराब व्यक्ति सबै दलमा छन् । अहिले खराब व्यक्ति पार्टीमा हाबी भएका छन् ।’
उनले आफू सर्वोच्च अदालतसम्म पुग्ने बताईन् । उनले आयोग र सम्बन्धित दलले नियम र कानूनअनुसार काम गर्नुपर्नेमा जोड दिईन् ।
हेरौं उनको भिडिओ :