काठमाडौं, पुस ४ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मधेस प्रदेशमा २६ दलको जमानत जफत भएको छ । निर्वाचनमा ३६ वटा दलको सहभागिता रहेकोमा १० दलले मात्र आफ्नो जमानत बचाउन सकेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलको जमानत जफत हुने व्यवस्थाबमोजिम २६ दलको जमानत जफत भएको निर्वाचन आयुक्त सगुनशमशेर जबराले बताए।
यस्तै, प्रत्यक्षतर्फ ७ सय ८९ उम्मेदवारको धरौटी जफत भएको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार ७ सय २४ पुरुष उम्मेदवार, ६४ महिला उम्मेदवार र एक अन्य उम्मेदवारको जमानत जफत भएको हो ।
मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिक ४३ गरी १०७ प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो । जसमा पुरुष ६७ जना र महिला ४० जना निर्वाचित भएका हुन् । मधेस प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३६ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । नेपाल समाचारपत्र दैनिकबाट