काठमाडौं, ७ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भलाकुसारी भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सांसदको रुपमा शपथ खाएपछि आयोजित चियापानमा सरिक हुने क्रममा ओली र दाहालबीच भलाकुसारी भएको हो । सो क्रममा दुवै नेता हर्षित मुद्रामा देखिएका थिए ।
हिजो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा पशुपतिशमशेर जबराको लागि शितलनिवासमा आयोजित शपथग्रहण समारोहमा पनि ओली र दाहालबीच भलाकुसारी भएको थियो । नेकपा विभाजनपछि दुई नेताको हिजो पहिलोपटक जम्काभेट भएको हो ।
नयाँ सरकार गठनको लागि वाम गठबन्धनको चर्चाका बीच दुई नेताबीच सार्वजनिक समारोहमा भेट हुँदापनि चर्चाको विषय बन्ने गरेको छ । हिजो शितलवासको तस्विर ओलीको सचिवालयले सार्वजनिक गरेको हो भने आजको संसद्को चियापान समारोहमा दुई नेता एउटै सोफामा बसेको तस्विर प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।