Logo

बागमती लगायतका प्रदेशको मुख्यमन्त्रीमा राप्रपाको दाबी छः धवलशमशेर



काठमाडौं, १५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीको एजेन्डा समेटिने बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय संयन्त्रको सदस्य समेत रहेका राणाले नेपालको उन्नति, प्रगति र हित हुने गरी काम हुने पनि औंल्याए ।
‘हिन्दु राष्ट्र नेपाल बनाउने कुरामा संयन्त्रभित्र तत्काल सहमति हुने सम्भावना नदेखे पनि राप्रपा आफ्नो एजेन्डा र मूल्य मान्यताबाट पछि नहटेको उनको तर्क छ । उनले भने, छैन् हिन्दु राष्ट्र हाम्रो एजेन्डा हो । हामी यही संविधानभित्र बसेर जनताको मन जितेर संविधान परिवर्तन गर्न शक्तिसञ्चय गर्ने पक्षमा छौं । त्यसका लागि सरकारमा जाँदै छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राणाले भने ।
संसदीय दलको नेता राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपा सरकारमा जाने पनि उनले बताए । तर मन्त्रालयको संख्या उनले बताउन चाहेनन् । राप्रपा नभईकन सरकार नबन्ने स्थितिमा प्रदेश मुख्यमन्त्रीमा दाबा रहने उनको तर्क छ । राणाले भने, ‘बागमती लगायतका प्रदेशमा हामी नभईकन सरकार नबन्ने अवस्था छ भने मुख्यमन्त्री किन नमाग्ने ? त्यसैले हामी सातवटै प्रदेशमा सहकार्य गर्छौं ।’
छिमेकीको सहयोग र सद्भाव आवश्यक छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगले सिफारिस गरेअनुसार मन्त्रालयको संख्या घटाउँदा आपत्ति नहुने पनि उनले औंल्याए । उनले भने, ‘मन्त्रालय कति राख्ने ? २१ मै राख्ने कि १६ मा झार्ने ? शीर्षस्थ नेताहरुबीच कुराकानी हुन्छ । हाम्रो सरोकार जनतालाई सुविधा दिने हो, सास्ती दिने होइन ।’

 

 



प्रतिक्रिया दिनुहोस्