काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन नसकिने बताएका छन् । सोमबार पार्टी पोलिटब्यूरो बैठकमा उनले अहिलेको सरकार सहभागी हुन नसकिने र राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर पार्टी अघि बढ्ने बताएका हुन् ।
वर्तमान राजनीतिक परिस्थितिमा आफूहरुले ठीक गरेको दावी गर्दै अध्यक्ष नेपालले कसै सामू लत्रिने पक्षमा नरहेको दावी गरे । साथै, अब पछिल्लो राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षाका साथ पार्टी अगाडि बढ्ने तर आरोपप्रत्यारोपको राजनीतिको पक्षमा आफूहरु नरहेको पनि उनले बताए ।
एमालेमा रहेर पार्टीभित्रको समस्या समाधान गरि अघि बढ्ने प्रयास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरि असफल गराएपछि नयाँ यात्रा सुरु गर्न परेको तथ्य नविर्सन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौँ। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौँ। नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौँ,’ नेता नेपालले भने ।
अब आफूहरु वस्तुनिष्ठ समीक्षाका साथ अघि बढ्न तयार रहेको पनि बताएका छन् । आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि उनले चेतावनी दिए।